नेकपा-माओवादीमा परि थापाको एकीकृत, मातृका यादवको माओवादी र मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी गाभिने

बालकृष्ण बस्नेत, कान्तिपुर

 

काठमाडौ – एमाओवादीसँग तत्काल एकीकरण असम्भव रहेको बताउँदै आएको नेकपा-माओवादीले साना कम्युनिस्ट पार्टीलाई भने आफूमा गाभ्ने तयारी गर्दैछ । विचारसँग नजिक पार्टी र मोर्चालाई सकेसम्म गाभ्ने, नभए एउटै छातामा गोलबन्द भई संघर्ष अघि बढाउने रणनीतिमा माओवादी छ ।


उक्त रणनीतिअनुसार पहिलो चरणमा ३ वटा कम्युनिस्ट पार्टी माओवादीमा एकीकृत हुने तयारीमा हुन् । मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीमा परि थापाको एकीकृत, मातृका यादवको माओवादी र मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी एक हुन लागेका हुन् ।


‘विचार मिल्ने पार्टीहरू एक भएर जाँदा मुलुकको हितमा ठोस कदम चाल्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो,’ नेकपा-माओवादी केन्द्रीय सदस्य महेश्वर दाहालले बिहीबार भने । उनले शनिबारदेखि पोखरामा बस्ने पार्टी केन्द्रीय समिति बैठकमा समेत एकीकरण, संविधानसभा चुनावलगायतमा अपनाइने कार्यदिशाबारे छलफल हुने जानकारी दिए ।


एकीकृत माओवादीबाट अलग भई वैद्यको नेतृत्वमा एक वर्षअघि बेग्लै पार्टी गठन भएको हो । पार्टी ‘विभाजनको औचित्य सावित हुन नसकेको र राष्ट्रिय राजनीतिमा हुनुपर्नेभन्दा कमजोर भूमिका देखिएको’ आलोचना भइरहेका बेला एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसमेतले मंगलबार वैद्यसँग एकीकरण प्रस्ताव गरेका थिए । तर माओवादीले भने पहिले अन्य कम्युनिस्ट घटकसँग एक हुने, आफूले उठाउँदै आएको राजनीतिक एजेन्डालाई आन्दोलनबाट निष्कर्षमा पुर्‍याउने र बढ्दै गएको विदेशी हस्तक्षेपको विरोध गर्ने निर्णय गरेको हो ।


‘ठूला दलहरूको राष्ट्रघाती कदमले मुलुकको शिर निहुर्‍याएको छ,’ विवादास्पद नागरिकता विधेयकसहितका राष्ट्रिय हितविपरीत निर्णय र नियुक्ति बदर नभएसम्म ४ दलसँग कुनै सहकार्य नहुने माओवादीका अर्का केन्द्रीय सदस्य एकराज भण्डारीले बताए ।


४ दलको संयन्त्रले गरेका निर्णयका विरोधमा माओवादीले ३३ दल र मोर्चालाई समेट्दै आन्दोलन गरिरहेको छ । बिहीबार एकीकरण लागि संयुक्त रूपमा अघि बढेका ३ कम्युनिस्ट पार्टी पनि ३३ दलभित्रैका हुन् ।


एकीकरण प्रस्ताव अघि बढाउँदै वैद्य र अन्य ३ कम्युनिस्ट पार्टीका प्रमुखले संयुक्त रूपमा हस्ताक्षरसमेत गरेका छन् । ‘आफूलाई लोकतन्त्रवादी र वामपन्थी भन्ने पार्टीहरूले लगातार जनघात र राष्ट्रघात गर्दै गइरहेका छन्,’ त्यसको विरोधमा एकीकरण हुनुपर्ने ठहर्‍याउँदै ती पार्टीहरूले बिहीबार संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन् । अन्य वाम घटकलाई समेत मिल्न अपिल गरेको विज्ञप्तिमा नेताहरू वैद्य, थापा, यादव र मणिले हस्ताक्षर गरेका छन् ।


पार्टी गठनयता पहिलोपल्ट राजधानीबाहिर बस्न लागेको केन्द्रीय कमिटी बैठकमा एकीकरणको मुद्दा चर्को रूपमा उठ्ने केन्द्रीय सदस्य दाहाल बताउँछन् । त्यस्तै संविधानसभाको मुद्दामा पार्टीको अडान के हुने, संघर्षको एजेन्डा कसरी परिमार्जन गर्ने र मोर्चाको गठबन्धनलाई कसरी अघि बढाउने भन्ने विषयमा समेत गहन छलफल हुने उनले बताए । ५१ पूर्णसहित एक सय ५० जनाको केन्द्रीय समितिको कार्यविभाजनसमेत बैठकले गर्नेछ ।