पूर्व युवराज्ञी हिमानीको गैरसरकारी संस्था हिमानी कोषद्धारा मध्य तथा सुदूर पश्चिमका बाढी पीडितलाई सहयोग गर्न आह्वान

काठमाडौं – पूर्व युवराज्ञी हिमानी शाहको गैरसरकारी संस्था हिमानी कोषले मध्य तथा सुदूर पश्चिमका बाढी पीडितलाई सहयोग गर्न आह्वान गरेको छ। संस्था आफैँले पनि पीडितका लागि राहत पुर्‍याउन लागेको कोषले जानकारी गराएको छ।


कोषले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै बाढी पीडितलाई सहयोग गर्ने यो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरेको छ। ‘यस अभियानमा सहयोग पुर्‍याउन चाहने संघ, संस्था तथा महानूभावहरुलाई हिमानी कोष हार्दिक आव्हान गर्दछ’, पूर्व राजा ज्ञानेन्द्र शाहका निजी सचिव फणि पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यसअघि पूर्वराजा शाहले कोषमार्फत् २५ लाख रुपैयाँ बाढी पीडितलाई प्रदान गर्ने जनाइसकेका छन्।


लत्ता कपडा, खाध्यान्न, औषधि, भाँडाकुँडा, घर टहरा निर्माणका लागि जस्तापाता, बाँस आदि सामाग्री कोष मार्फत् बाढी पीडितलाई सहयोग गर्न पनि अनुरोध गरेको छ। सहयोग गर्न चाहने संघ, संस्था तथा महानुभावले बाढी पीडित राहत कोषको नाममा सनराईज बैंक, गैरीधारा शाखा, खाता नं. ००२१०२१३०५००१४ मा रकम जम्मा गरी वा Swift Code – SRBLNPKA मा रकम पठाई सहयोग गर्न आह्वान गरेको छ।


पूर्व युवराज पारस बैंकक बस्न थालेपछि हिमानी समाजसेवा तर्फ लागेकी हुन्। यसअघि कोषले दोलखामा काम गरेको थियो।

 

RSS