नेकपा एमालेबाट विद्रोह गरी एकीकृत माओवादीमा प्रवेश गरेका रामचन्द्र झाले पूर्वसहमति अनुसारको जिम्मेवारी नपाए पार्टी त्याग्ने बताएका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा सहभागी नभएका झाले पाँचभन्दा बढी पदाधिकारी थप्दा आफूलाई सचिव बनाउने सहमति कार्यान्वयन नभएको बताए।
‘पदाधिकारीको झमेलामा म गइनँ। पाँचजना मात्रै पदाधिकारी हुँदा नवौं स्थानको स्थायी समिति सदस्य बन्ने,’ उनले भने, ‘पाँचभन्दा बढी पदाधिकारी भए सचिवमा लाने सहमति भएको हो।’ पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति कार्यान्वयन नभएकाले बैठकमा जानुको औचित्य नदेखेको झाले बताए।
सहमति कार्यान्वयन नभए पार्टीमा पनि नजाने उनले बताए। ‘सहमति एउटा गर्ने, अहिले भद्रगोल स्थायी समितिमा राखेपछि म जान्नँ,’ झाले भने, ‘सहमतिअनुसार जिम्मेवारी नपाए कुनै जिम्मेवारी लिन्न। कुनै जिम्मेवारीमा नबसे पार्टीमा रहने-नरहने कुरै भएन।’
झा माओवादीमा प्रवेश गरेपछि मधेसमा एमालेलाई ठूलो क्षति पुर्याएको निष्कर्ष माओवादीको थियो। एमाले पोलिटब्युरो सदस्य झा पार्टीभित्र ‘पहिचानसहितको संघीयता’का पक्षधर थिए। उनी पहिचानको मुद्दामा पार्टीसँग असन्तुष्टि जनाउँदै एकीकृत माओवादीमा प्रवेश गरेका थिए।
कुनै बेला पदभन्दा पनि राजनीतिक कार्यदिशामा लामो बहस गर्ने एमाओवादीका नेताहरू अब भने पदको लडाइँमा तल्लीन हुन थालेका छन् । जारी केन्द्रीय समितिमा बैठकमा नेताहरूले खुलेरै पद मागेका छन् । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको नेताहरूको बढुवा प्रस्तावप्रति समेत उनीहरूले असन्तुष्टि जनाएका छन् ।
शुक्रबार केन्द्रीय समिति बैठकमा ३१ जना नेताहरूले प्रस्तावबारे बोले । बोल्ने अधिकांशको एउटै माग थियो- आफ्नो सही मूल्यांकन भएन । केही नेताहरूले त आवश्यक परे पदका लागि पार्टीभित्र निर्वाचन हुनुपर्ने मागसमेत गरे ।
दाहालले बैठकमा पदाधिकारी ९, पूर्ण स्थायी २५, सात वैकल्पिक स्थायी, ५१ पोलिटब्युरो, २४ वैकल्पिक पोलिटब्युरो र एक सय ५१ पूर्ण केन्द्रीय सदस्य, बाँकी वैकल्पिक केन्द्रीय समिति गरी ३ सय ९९ जनाको जम्बो केन्द्रीय समिति हुँदासम्म नेताहरूको चित्तबुझेको छैन । नौ जनाको केन्द्रीय पदाधिकारी बनाउने प्रस्तावमा बोल्ने सबै नेताहरूले समर्थन गरेका थिए । बिहीबार १७ सदस्यीय स्थायी समिति बनाउने टुंगो लगाए पनि त्यसमा नपरेका केही नेताहरूले असन्तुष्ट जनाएकाले २५ पुर्याइएको स्रोतको भनाइ छ ।
rss/nagarik,kantipur