निर्वाचन क्षेत्र निर्धारण आयोगले विज्ञहरुसँग छलफल

काठमाडौ  । विघटित संविधानसभामा रहेका दलहरुसँग एकसरो छलफल सकाएको निर्वाचन क्षेत्र निर्धारण आयोगले आज भने विज्ञहरुसँग छलफल गर्दैछ । संविधानसभा निर्वाचनसम्पन्न गरेको निर्वाचन आयोगका पूर्व पदाधिकारी, संविधान कानुनका जानकार, भूगोल र जनसंख्याका विज्ञहरुलाई छलफलका लागि बोलाइएको आयोगको सचिवालयमा कार्यरत जिल्ला न्यायाधीश केशव बाँस्तोलाले हामीलाई जानकारी दिए । 
दलहरुले आफ्नो स्वार्थमा बाधा नपर्ने गरी क्षेत्र निर्धारणका लागि सुझाव दिएपछि अन्यौलमा परेको आयोगले विज्ञहरुबाट यथार्थ सुझाव पाउने अपेक्षा पनि गरेको छ । हिजो र अस्ति आयोगले विघटित संविधानसभा प्रतिनिधित्व गर्ने ३४ दलसँग छलफल गरेको थियो । 
विज्ञहरुसँग छलफलका साथै जनताको राय लिएर प्रतिवेदन तयार गर्ने तयारी आयोगको छ । दलहरुको छलफलमा मधेश केन्द्रित दलले जनसंख्याका आधारमा क्षेत्र निर्धारण गर्न र तराईमा क्षेत्र थप्न माग गरेका छन् भने अन्य दलले जनसंख्यालाई मात्र आधार नबनाई भूगोल र अरु पक्षलाई पनि समेट्न माग गरेका छन् ।
RSS