अर्घाखाँचीको धनचौरमा विद्युत विनाको टान्सफर्मर, १० वर्ष भयो विजुली बलेन

– वीरेन्द्र केसी

 

धनचौर, अर्घाखाँची । पोल गाडेको दस बर्षसम्म तीन गाविसमा विजुली बल्न सकेको छैन् ।  आधा करोड रुपैया खर्चेर गाडिएका काठका पोल कुहिएर ढलिरहेका छन ।

 



जिल्लाको धनचौर, ढिकुरा र नुवाकोट गाविसमा पोल गाडेर तार टागिएको छ तर दस वर्ष भैसक्यो विजुली बल्ने सुरसार नै छैन । सामुदायिक विद्युतीकरण अन्तरगत दुई वर्ष भित्र गाउँ उज्यालो बनाउने योजना अधुरै रहेको छ । जनप्रकाश सामुदायिक ग्रामीण विद्युत वितरण केन्द्रद्धारा सञ्चालित गाउँ उज्यालो कार्यक्रम अध्यारोमै सीमित रहेको छ । गाउँलेले चन्दा संकलन र गाविसको लाखौ रुपैया खर्चिसकेका छन ।

 



सदरमुकाम देखि झण्डै सात किलोमिटरको  ढिकुरा र २० देखी २५ किमी अन्तर्गत पर्ने दक्षिणी धनचौर र नुवाकोटमा गाडिएका झण्डै आधा पोल कुहिएर धमाधम ढलिरहेका छन । तीन गाविसमा विद्युतीकरण गर्ने जिम्मा लिएका ठेकेदार सागर लुईटेलले काममा आलटाल गरेपछि गाउँ उज्यालो बनाउने योजना अलपत्र परेको छ । तीन गाविसको विकास बजेट विद्युतीकरणमा खर्च भैरहेको छ, जनप्रकाश सामुदायिक ग्रामीण विद्युत वितरण परिचालन समितिका सदस्य झविलाल भट्टराईले भने, अहिलेसम्म धनचौरमा २४ लाख, नुवाकोटमा ८ लाख ३५ हजार र ढिकुरामा १४ लाख ३५ हजार रुपैया खर्च भैसकेको छ । यो सबै गाविसको बजेटबाट खर्च गरिएको छ । सम्झौता अनुसारको काम गरेनन, भट्टराई भन्छन्, १२ सय ५१ पेल गाडनेमा १ हजार ४५ वटा मात्र गाडे त्यसमध्ये ४ सय ३५ पोल कुहिएर ढले अझै पनि दर्जनौ पाल एकै पटक ढल्ने तयारीमा छन ।

 



सम्झौता अनुसार पनि पोल गाडने काम भएको छैन । नुवाकोटमा ३ सय ५६ वटा पोल गाडनुपर्नेमा ३ सय ४, ढिकुरामा ३ सय ९१ गडनुपर्नेमा ३ सय १५ र धनचौरमा ५ सय ४ वटा गाडनुपर्नेमा ४ सय १५ वटामात्र पोल गाडिएका छन ।  माटोमा गाडिएका काठका पोल बीच-बीचबाट र माटोमा कुहिएर ढलेका छन । तार चुडिएर वेवारिसे भएका छन । ४६ लाख ७० हजार रुपैया लगानी वालुवामा पानी हाले सरह भयो, धनचौरका स्थानीय धर्मराज भटराईले भने, विजुली बल्ला भन्ने आश पनि हराईसक्यो । दस वर्षसम्म विजुली नबलेपछि गाउँले हजारौ रुपैया खर्चेर घरसम्म जोडेको तार र पोल हेरेर बस्न बाध्य छन । घरको लैनो भैसी बेचेर विद्युतीकरणको लागि रकम उठायौ, चन्द्रकला सारुले भनिन, एक दशक भैसक्यो विजुली बल्ने शुर नै छैन । गाउँका धेरैले ऋण खोजेर विजुली बाल्नको लागि रकम जम्मा गरेको उनले बताईन् । सदरमुकाम देखी सबैभन्दा टाठा धनचौरमा गाडिएका धेरै पोल ढलिरहेका छन । ठेकेदार लुईटेलसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

 



विद्युत प्राधिकरण अर्घाखाँचीका प्रमुख हरिप्रसाद पाण्डेले विजुली बल्न ढिलाई हुने कुरामा सम्बन्धित ठेकेदार र उपभोक्ता समिति जिम्मेवार हुने बताए । उनले तार टागिएको गाउँमा विजुली बल्नेक्रममा रहेको छ । उनले धनचौरमा छिटै विजुली बल्ने दावी गरे । धनचौरमा ३ सय, नुवाकोटमा २ सय ४५ र ढिकुरामा एक सय वटा मिटर गैसकेको र काम सम्पन्न हुने वित्तकै विजुली जडान गरिदिने उनले बताए ।

 


 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु