एकीकृत माओवादीले पार्टीभित्रको पदीय भागवण्डाको विवाद मिलाउन विशेष महाधिवेशन गर्ने

काठमाडौं । एकीकृत माओवादीले पार्टीभित्रको पदीय भागवण्डाको विवाद मिलाउन विशेष महाधिवेशन गर्ने भएको छ । पार्टी प्रवक्ता अग्नि सापकोटाले आज केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित नियमित पत्रकार सम्मेलनमा पदीय विवाद मिलाउन संविधानसभा निर्वाचन सकिए लगत्तै विशेष महाधिवेशन गरिने जानकारी दिए ।


प्रवक्ता सापकोटाले विशेष महाधिवेशनले वरिष्ठ नेताहरुको अवकाश र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको टुंगो लगाउने बताए । एमाओवादीभित्र बाबुराम भट्टराईले हालै बसेको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष लगायतका सबै पदबाट राजीनामा दिएपछि पद भागबण्डा विवाद उत्कर्षमा पुगेको छ ।


यही विवाद मिलाउन एमाओवादीले आगामी साउन ४ गते राजधानीमा विस्तारित बैठक आयोजनाको निर्णय गरिसकेको छ । सापकोटाले उपाध्यक्ष भ्टराईले पद त्याग गर्ने समय नआईसकेको भन्दै विस्तारित बैठकले निकाश दिने बताए ।


सापकोटाको यस्तो अभिव्यक्तिबाट विस्तारित बैठकमा बाबुराम भट्टराईलाई राजीनामा फिर्ता गर्न दबाब दिएर विशेष महाधिवेशनबाट विवाद टुंग्याउने रणनीति अध्यक्ष पुष्मकमल दाहालले बनाएको संकेत मिलेको छ ।


तर, भट्टराईले कुनै हालतमा पनि राजीनामा फिर्ता नगर्ने अडान लिदै आएका छन् ।

 

RSS