काठमाडौं । भ्रष्टाचार विरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा राजनीतिक दललहरु सबैभन्दा बढी भ्रष्ट भएको बताएको छ । ट्रान्सपरेन्सीको नेपाल शाखाले देशका ५८ वटा नगरपालिकाका १ हजार घरधुरीमा पुगेर गरेको सर्वेक्षणले राजनीतिक दल र तिनका नेताहरु सवैभन्दा भ्रष्ट देखाएको हो ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी ट्रान्सपरेन्सीले बताए अनुसार सर्वेक्षणमा सहभागी ७० प्रतिशतले राजनीतिक दलहरु अति भ्रष्टाचारी भएको जवाफ दिएका थिए ।
प्रतिवेदन अनुसार अन्य भ्रष्टाचारीहरुमा निजामति कर्मचारी ६६ प्रतिशत, प्रहरी ५८ प्रतिशत, संसद ५१ प्रतिशत, न्यायपालिका ५१ प्रतिशत, सैनिक २७ प्रतिशत रहेको उल्लेख छ ।
त्यस्तै सञ्चारमाध्यम १४ प्रतिशत, चिकित्सा तथा स्वास्थ्य क्षत्र १७ प्रतिशत भ्रष्टचार हुने गरेको देखाइएको छ । पत्रकार सम्मेलनमा ट्रान्सरेन्सीका अध्यक्ष विष्णुबहादुर केसीले मुलुकमा राजनीतिक स्थायित्व र सुशासन लगायतको अभावमा भ्रष्टाचार मौलाएको बताए ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २००३ देखि विश्वव्यापी रुपमा भ्रष्टाचार हुने क्षेत्रहरुको बारेमा सर्वेक्षण गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।
ग्लोबल करप्सन व्यारोमिटर सर्वेक्षण नाम दिईएको यस्तो सर्वेक्षण विश्वका एक सय ७ मुलुकमा हुने गरेको जनाइएको छ । सन् २०११ देखि नेपाललाई पनि यो सर्वेक्षणमा समावेशन गर्ने गरिएको हो ।