देवेन्द्र बस्नेत
दाङ – नेकपा एमालेको युवा संगठन युवासंघ नेपाल दाङका ४ सय बढी युवा एकीकृत माओवादीमा प्रवेश गरेका छन्। युवा संघमा आबद्ध ४ सय ४ जना युवाले शनिबार एमाओवादीमा सामूहिक प्रवेश गरेका हुन्। उनीहरुलाई एकीकृत माओवादीका संगठन विभाग प्रमुख कृष्णबहादुर महराले पार्टी प्रवेश गराएका हुन्।
उनले सबै युवालाई अबिर लगाइदिएर पार्टीमा स्वागत गरेका थिए। एमाले परित्याग गरी एमाओवादीमा प्रवेश गर्ने युवामा एमाले क्षेत्रीय सदस्यदेखि युवा संघका जिल्ला सदस्य सम्मका छन्। एमालेका क्षेत्रीय सदस्य तथा कराँते खेल प्रशिक्षक गगन पुन, युवा संघका जिल्ला सदस्य प्रविण केसी र युवा संघका नगर उपाध्यक्ष सुवास विकलगायत युवाको समूह एमाओवादीमा प्रवेश गरेको हो। यी तीन जनाले युवालाई संगठित गरी पार्टी प्रवेश गरेका हुन्। यसअघि उनीहरु युवा संघमा सक्रिय थिए। ‘देश हाँक्ने पार्टी एमाओवादीमात्रै हो भन्ने बुझेर हामीहरुले एमाले छोडेका हौं,’ पार्टी प्रवेश गरेका युवा संघका सुवास विकले भने, ‘अब हामी युवाले एमाओवादीलाई जस्तोसुकै सहयोग गर्नेछौं।’ पार्टी प्रवेश गर्नेहरु घोराही तथा देउखुरी क्षेत्रका युवा हुन्।
राजनीतिक पार्टी परिवर्तन गरेका कतिप युवाले पार्टी प्रवेशलाई आफ्नो गाउँको विकास निर्माणको अवसरसँग जोडेका छन्। अन्य पार्टीमा लाग्दासम्म आफ्नो गाउँमा विकास निर्माणमा कसैले चासो नदिएको भन्दै पार्टी प्रवेश गरेका सौडियारका प्रविण थापाले एमाओवादीसँग गाउँको विकासको आशा राखेका छन्। ‘एमालेमा लाग्दासम्म गाउँमा कुनै पनि विकास भएन,’ थापाले भने, ‘त्यही विकास होला भनेर ता लागेको छु, हेरौं के हुन्छ?’ एकीकृत माओवादीका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले भने एमालेका नेता कर्यकर्ताले आफूलाई दुश्मन देख्ने प्रवृत्तिका कारण एमालेका युवासंघका युवालाई तानेको बताए।
४ सय युवालाई पार्टी प्रवेश गराउँदै एनेकपा माओवादीका संगठन विभाग प्रमुख महराले कांग्रेस-एमालेमा लागेका अन्य युवालाई समेत एनेकपा माओवादीमा प्रवेश गराउनका लागि भूमिका खेल्न नवप्रवेशीलाई आग्रह गरे।
देशलाई निकाश दिने एकमात्र पार्टी एनेकपा माओवादी भएको भन्दै उनले बाटो बिराएर कांग्रेस एमालेमा लागेका अरु साथीलाई पनि यतै ल्याउन भूमिका खेल्नुपर्ने बताए।’