पहिरोले किमडाँडा आँपखोला उच्च जोखिममा, पाँच परिवार विस्थापित

वीरेन्द्र केसी

 

किमडाँडा, अर्घाखाँची  ।  अनियन्त्रित पहिरोले किमडाँडा आँपखोला गाउँ उच्च जोखिममा छ । पहिरोले घर चर्किएर भत्किन थालेपछि पाँच घरपरिवार विस्थापित भएका छन ।

 



उनीहरु छिमेकीको घरमा बसेका छन । २३ घर उच्च जोखिममा छन । पानी पर्दा गाउँले रातभर जाग्राम बस्ने गरेका छन । पहिरोले देवबहादुर विक, सावित्रा केसी, देवी शाही, दुर्गाप्रसाद भुसाल र सावित्रा आचार्यको घर चर्किएको उद्योग वाणिज्य संघका महासचिव एवं आँपखोलाका स्थानीय नेत्रप्रसाद भुसालले बताए । उनीहरु चर्किएको घरमा बस्न छाडेका छन । घर माथिबाट आएको पहिरोले घर पुर्ने र घर तहबाट गएको पहिरोले घरै बगाएर लैजान सक्ने डरले गाउँले त्रसित भएको उनले बताए । झाडी जंगल भएको ठाउँमा पनि ठुलो पहिरो गएको छ ।

 


 

दैनिकजसो पानी परेकाले जतिबेला पनि घर भत्किनसक्ने त्रास छ । घर उच्च जोखिममा छन, तहबाट पहिरोले घर झुण्डिएका छन, शिक्षक हरिप्रसाद भुसाल भन्छन, नसोचेको ठाउबाट पहिरो गएकाले सिंगो गाउँले रातीमा त्रसित छन । आकाशमा कालो बादल देख्ना साथ गाउँलेले घर छाडछन । एक साता देखी  गाउँले पहिरोको त्रासमा छन । अविरल वर्षाले किमडाँडाको वडा नं. ३, ७ र ८ का ५० भन्दा बढी घरपरिवारलाई असर परेको छ । मजदुरी गरेर बनाएको झुप्रो पनि भत्कियो, सिमलपानीका देवबहादुर विक भन्छन, घरको आधा गारो भत्किएपछि भैसीको गोठमा बसेका छौ । रातीमा सुतेको बेला भैसीको कुच्ने डरले निदाउदैनन । घर बनाउने जग्गा छैन । सुत्केरी श्रीमती, अपाङ्ग भाई र छोराछोरी लिएर पानी चुहिने भैसीको गोठमा बस्न बाध्य छन । उनी जस्तै सावित्रा आचार्य पनि  पिडीत छिन । घर बगाउन ठिक्क छ, उनले भनिन हामी अहिले गाउँलेको शरणमा छौं, छोरा विदेशमा गएर अलपत्र परेको छ, वुढा विरामी छन् भए जतिको समस्या मैं माथी आइप-यो ।  घर पुरै चर्किएकाले बस्न सकेकी छैनन् । कहिल्यै पहिरो नगएको स्थान र कल्पना नै नगरेको ठाउँमा पहिरो गएको गाउँलेको भनाई छ । वस्तीपच्छे पहिरैपहिरो गएकाले गाउँले त्रसित छन ।

 

 मेहरसिंह वली, गगन क्षेत्री ठगवहादुर खत्री, शेरवहादुर खत्री, डिलवहादुर खत्री, कमला शाही, सिता क्षेत्रीको घर उच्च जोखिममा छन् । पकलेकी सिता क्षेत्रीको करिव २० लाख रुपैया खर्च गरेर वनाएको पक्की घर पहिरोको जोखिममा रहेको छ । रातमा निन्द्रा पनि लाग्दैन उनले भनिन कतिवेला पहिरोले लैजान्छ भन्ने त्रास मनमा छ । पहिरो जाने क्रम रोकिएको छैन । यस वर्ष पानी धेरै परेकाले माटो उम्लिएर बगेको गाउँले पीडितको भनाई छ ।

 



छरिएर रहेको वस्तीका ४५ घर उच्च जोखिममा छन । रातको बेला उनीहरु आकाशबाट पानी पर्नासाथ त्रसित हुने गर्छन । पखेरामा घर भएको ठाउँमा पहिरै पहिरो गएको छ । घर, गोठ र बारीको तल र माथिबाट पहिरो गैरहेको छ । वस्ती नै जोखिममा भएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले स्थलगत निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष सागरमणि पाठक, प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डे, स्थानीय विकास अधिकारी हेमराज भुसाल लगायत सरकारी कर्मचारी र सञ्चारकर्मीको टोली विस्थापितको वस्तीमा पुगेर अवलोकन गरेको छ । विस्थापित पाँच परिवारलाई रेडक्रसका उपसभापति कुशल भुसालले भाडाकुडा, खाद्यान, त्रिपाल लगायतका सामाग्री वितरण गरे ।  गाउँमा मानवीय क्षेति भएको छैन तर घर चर्किएकाले बस्न त्रास भएको छ । प्रजिअ पाठकले सरकारी क्षेत्रबाट सक्दो सहयोगको लागि पहल गरिने गाउँलेलाई अश्वासन दिए ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु