सुरेश यादव
जनकपुर- दुई हप्ता अगाडि दर्जन समूहबीच एकता गरेको तराईको भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाले अपराधिक गतिविधि तिव्र पार्ने चरणबद्ध कार्यक्रमको घोषणा गरेको छ।
मोर्चाले आइतबार जारी गरेको विज्ञप्ती अनुसार असार ३१ गतेदेखि साउन १० गतेसम्म मधेशवादी पार्टी र तराईमा सुरक्षार्थ खटेको सुरक्षा संयन्त्रविरुद्ध पर्चा पम्पलेट वितरण गर्ने र साउन पाँच गतेदेखि मसान्तसम्म विभिन्न सात वटा मधेसवादी पार्टीका नेतृत्व तथा जिल्ला स्तरका नेता उपर भौतिक कारबाही गरी मधेसबाट विस्थापित गराउने योजना सार्वजनिक गरेको छ। ती सात दलमा उपेन्द्र यादव, राजेन्द्र महतो, विजय गच्छदार, महन्थ ठाकुर, राजकिशोर यादव, महेन्द्र राय यादव र अनिल झा नेतृत्वको पार्टीलाई उल्लेख गरिएको छ।
त्यस्तै साउन छ गतेदेखि मधेशमा स्थापित विभिन्न सरकारी कार्यालयका कर्मचारीमाथि भौतिक आक्रमण गर्ने जनाएको छ। साउन १० देखि १७ गतेसम्म नेपालको अन्तरिम संविधान र राष्ट्रिय झण्डा जलाउने, साउन १८ र १९ गते मधेशका सबै जिल्लामा मशाल जुलुस र फायरिंग जुलुस प्रदर्शन गर्ने लगायतका योजना सार्वजनिक गरेको छ।
मोर्चाका अध्यक्ष राजन मुक्तिले जारी गरेको विज्ञप्तीमा साउन २० गते मधेश बन्दको आह्वान गरिएको छ। बजार, यातायात, कलकारखाना र शैक्षिक संस्थान लगायत सम्पुर्ण सार्वजनिक गतिनिवधि बन्द गर्ने र अवज्ञा गर्नेलाई सशस्त्र कारवाही गर्ने चेतावनी विज्ञप्ती मार्फत दिइएको छ। यस अघि पूर्व राजा ज्ञानेन्द्र शाहले धनुषा र महोत्तरी भ्रमण गरेको बेला बन्द घोषणा गरेको मोर्चाले मोटरसाइकल सवार दम्पतीमाथि गोली चलाएको थियो।
दोस्रो संविधान सभाको निर्वाचन विथोल्ने घोषणा गरेको मोर्चाले पछिल्लो दुई सातादेखि तराई क्षेत्रमा अपराधिक गतिविधि बढाएको छ। महोत्तरीको मनरामा लगातार दुई दिन गोली चलेपछि त्यहाँ स्थित प्रहरी नेतृत्वले सावधानी अपनाएको बताएको छ। धनुषा प्रहरीले भने जनशक्ति नै नभएको मोर्चाले वाहियात धम्की दिइरहेको भन्दै उसको चेतावनीले खासै फरक नपर्ने भनेको छ।