निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाताको नामावली यही श्रावण ८ गते सार्वजनिक हुने

काठमाडौं । निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाताको नामावली यही ८ गते सार्वजनिक गर्ने भएको छ । मतदाता नामावली सम्बन्धित गाउँ विकास समिति र नगरपालिकाको वडाहरुमा सार्वजनिक गरिने आयोगका प्रवक्ता वीरबहादुर राईले हामीलाई जानकारी दिए । 
राईले सोमबार साँझसम्म देशभर संकलन गरिएका नामावलीको विवरण संकलनको काम भैरहेकाले आज दिउँसोसम्ममा कूल मतदाता संख्याबारे बताउन सकिने जानकारी पनि दिए । 
आगामी मंसिर चार गते हुने संविधानसभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावली संकलन गर्ने अन्तिम दिन हिजो देशभरका मतदाता नामावली संकलन केन्द्रमा नाम दर्ता गर्नेको भीड लागेको थियो । 
त्यसमा पनि सबैभन्दा बढी काठमाडौं, ललितपुर र कास्कीमा नाम दर्ता गर्नेको भीड थियो । हिजो विहानसम्म भने एक करोड २१ लाखभन्दा बढीले नाम दर्ता गराएका थिए । 
त्यसमा हिजो दिनभर दर्ता भएकाको संख्या भने जोड्ने काम भैरहेको निर्वाचन अयोगले जनाएको छ । यो संख्या २०६४ सालको संविधानसभा चुनावको भन्दा झण्डै आधा करोड अर्थात् ५० लाखले कम हो ।
RSS