मलालामाथि आक्रमण भएकोमा तालीवान वरिष्ठ नेता अदनान रशीदले आश्चर्यचकित

आफ्नै कार्यकर्ताको आक्रमणमा परेकी पाकिस्तानी किशोरी युसुफजाई मलालामाथि गरिएको आक्रमणले आफू आश्चर्यचकित भएको एक वरिष्ठ तालीवानी नेताले बताएका छन् । हत्या गर्ने मनसायका साथ मलालामाथि आक्रमण भएको एक वर्षपछि तालीवान वरिष्ठ नेता अदनान रशीदले आश्चर्य व्यक्त गरेका हुन् । उनले मलालालाई स्वदेशमै फर्केर मदरसामा पढन अर्ती पनि दिएका छन् । 
रशीदले मलालालाई पत्र पठाई उनीमाथि भएको आक्रमणबाट आफू आश्चर्यचकित भएको भन्दै उक्त आक्रमण सही वा गलत के थियो त्योचाहिँ अल्लाह नै जानून् भनेका छन् । गत बर्षको अक्टोवर ९ मा विद्यालयबाट घर फर्कदै गर्दा मलालामाथि तालीवानले गोली हानी हत्याको प्रयास गरेको थियो । 
टाउकोमा गोली लागेका उनको पाकिस्तानमा उपचार हुन नसकेपछि थप उपचारका लागि बेलायत लगिएको थियो । उपचारपछि सकुशल रहेकी मलाला हाल बेलायतमै छिन् भने संयुक्त राष्ट्रसंघले सानै उमेरमा उनले गरेको योगदानको सम्मानमा मलाला डे मनाउने निर्णय गरी गएको शुक्रवारमात्रै राष्ट्रसंघमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
 महासचिव वान कि मूनसहित उच्चाधिकारीहरु स्रोता रहेको उक्त कार्यक्रममा मलालाले आतंकवादीहरु कलम र कितावबाट डराउने भन्दै आतंकवादसँग लड्ने सबैभन्दा ठूलो हतियार पनि किताव र कलम नै रहेको बताएकी थिइन् । किशोरी शिक्षाका लागि लागेकी तिनै मलालालाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने भन्दै अहिले अभियान पनि चलाईदै छ । ।
  मलाला आक्रमणका विषयमा तालिवान नेता नै आश्चर्यमा