एकीकृत माओवादीका बाबुराम भट्टराईद्धारा वरिष्ठ नेता हुन अस्वीकार

हालै एकीकृत माओवादीको उपाध्यक्ष पद त्यागेका बाबुराम भट्टराईले अध्यक्ष प्रचण्डले राखेको वरिष्ठ नेताको पदको प्रस्ताव स्वीकार नगरेको बताएका छन्।


विस्तारित बैठकमा लैजाने प्रस्तावलाई अन्तिम रुप दिन प्रचण्डले नेताहरुसँग छलफल जारी राखिरहदा भट्टराईको यस्तो भनाइ आएको हो।


संविधानसभाको चुनावसम्म सबै अधिकार अध्यक्षमा नै केन्द्रित गरेर त्यसपछि सांगठनिक राष्ट्रिय सम्मेलनमा जानु पर्ने धारणा भट्टराईले राखिरहेको उनी निकट नेताहरुले बताएका छन्।


झण्डै ५०० माओवादी नेता कार्यकर्ता सहभागी हुने विस्तारित बैठकअघि भट्टराईको पद त्यागबारे पार्टीको शीर्ष तहमा सहमति जुटाउने प्रयास प्रचण्डले गरिरहेका छन्।

 

हालै उपाध्यक्ष पद त्याग गरेको घोषणा गरेका एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराई पार्टीको वरिष्ठ नेता बन्न सहमत भएको खबरहरु आइरहँदा समाजिक संन्जाल ट्वीटर मार्फत उनले त्यसको खण्डन गरेका छन्।


उनले ‘वरिष्ठ नेता’ को पद आफुले स्वीकार्ने अनुमान सही नभएको भन्दै एकीकृत माओवादीमा जारी बहस पार्टीको रुपान्तरण र शुद्धीकरणमा केन्द्रित रहेको बताएका छन्।


अध्यक्ष प्रचण्ड लगायत पदाधिकारीहरुले पद त्याग लगायत विषयमा बिहिवार पनि जारी राखेको सुझाव संकलनमा सहभागी एकजना माओवादी नेता हेमराज भण्डारी आफूले उठाएको संगठनात्मक सुधारको प्रस्ताव ओझेलमा पर्न सक्ने भएकाले भट्टराईले अहिलेसम्म वरिष्ठ नेताको पद नस्विकारेको बताए।