अविरल वर्षापछिको बाढीले कैलाली र धनगढीका विभिन्न क्षेत्र डुबानमा पारेपछि जनजीवन अस्तब्यस्त

कैलाली । अविरल वर्षापछिको बाढीले कैलालीका विभिन्न क्षेत्र डुबानमा पारेपछि जनजीवन अस्तब्यस्त बनेको छ । धनगढी नगरपालिकासहित आधा दर्जन गाविस डुवानमा परेका छन । बाढी र डुबानबाट सबैभन्दा बढि धनगढी नगरक्षेत्र प्रभावित भएको छ । नगरक्षेत्रमा अहिलेसम्मकै उच्च बाढी आएको छ । धनगढीको मूल सडकमा बाढी पसेकाले आवात जावतमा समस्या भएको छ ।


 धनगढी नगरपालिकाको शिवनगर, बसन्तटोल, क्याम्पस रोड, सेतोपुल, तारानगर, उत्तरबेहडी, बिशालनगर, धनगढी गाँउ, शान्तिटोल लगायतका बस्तीका तीन सय भन्दा बढि परिवार वाढीका कारण बिस्थापित भएका छन् । डुबानमा परेको धनगढी तारानगरमा रहेको आमाको माया छात्रावासका २७ जना विद्यार्थीलाई स्थानीय बासिन्दा र सुरक्षाकर्मीले उद्दार गरेका छन् । छात्रावाससंगै जोडिएको वस्तीका सात परिवारलाई पनि सुरक्षाकर्मीले उद्दार गरेका छन् ।


 बाढी र डुबानका कारण धनगढीका सबै विद्यालय र क्याम्पस बन्द गरिएको छ । कन्द्रा नदीले डुबानमा पारेको पहलवानपुर घुम्नी भाकलका ८५ परिवारलाई स्थानीय विद्यालयमा राखिएको छ । त्यस क्षेत्रमा वाढीका कारण प्रभावित अन्य परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी छ । गेटा गाविस श्रीलंकामा रहेका चार सयभन्दा बढि मुक्त कमैया परिवार बाढीमा फसेका छन् । उनीहरुको उद्दार प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।


कन्द्रा नदीमा आएको बाढीले पूर्व पश्चिम राजमार्गमा यातायात अबरुद्ध भएको छ । कैलालीको उर्मा, चौमाला, पहलवानपुर, फुलवारी, धनगढी नगरपालिकामा गरी दुई दर्जन भन्दा बढि घर बाढीले बगाएको प्रहरीले जनाएको छ । घोराहा नदीमा आएको वाढीले बगाउँदा फुलवारी गाविसका २५ वर्षिय घुमन राना बेपत्ता भएका छन् ।


वर्षा नरोकिएका कारण वाढी र डुवानको समस्या बढ्न सक्ने भन्दै प्रहरी र रेडक्रसले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा अपील गरेका छन् । यता, सप्तकोशीमा पनि पानीको वहाव बढेर २ लाख ११ हजार क्युसेक पुगेको छ । पानीको वहाव बढेसँगै कोशी ब्यारेजमा खतरा स्वरुप रातो झण्डा लगाइएको छ भने ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खुलाईएको छ । ब्यारेजमा सवारी साधन संचालनमा रोक लगाइएको छ ।

 

RSS