काठमाडौं । नेपाली वाम आन्दोलनका अगुवा एवं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३५ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रामेछाप जिल्लाको भँगेरीमा वि.सं. १९८१ साल असार १५ गते जन्मिएका पुष्पलालको मुटु रोगका कारण २०३५ साल साउन ७ गते निधन भएको थियो ।
दाजु गंगालाल श्रेष्ठलाई राणा शासकहरुले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा थालेका पुष्पलाल दुई वर्ष कांग्रेसको कार्यालय सचिवसमेत भएका थिए ।