पूर्व राजा ज्ञानेन्द्र शाहसहित हिमानी ट्रष्टका पदाधिकारीहरु बाढी पीडितलाई राहत बाँड्न दार्चुलामा

दार्चुला  । पूर्व राजा ज्ञानेन्द्र शाहसहित हिमानी ट्रष्टका पदाधिकारीहरु बाढी पीडितलाई राहत बाँड्न दार्चुला गएका छन् । दुई दिनदेखि धनगढी रहेका उनीहरु आज विहान दार्चुला गएका हुन् । आगामी निर्वाचनका लागि आचारसंहिता लागु भैसकेकाले चुनावलाई प्रभावित गर्ने गरी राहत वितरण नगर्न तथा गर्नपरे सरकारी संयन्त्रमार्फत् मात्र गर्न निर्वाचन आयोगले भनेपनि हिमानी कोषले आजबाट राहत बाँड्न लागेको हो ।


हिजो पत्रकार सम्मेलन गरी राहत वितरणमा पूर्व राजा ज्ञानेन्द्रको संलग्नता नरहने कोषले प्रष्ट्याए पनि उनी आज दार्चुला गएका हुन् । कैलालीको धनगढीमा हिजो पत्रकार सम्मेलन गरी कोषकी सचिव विजयालक्ष्मी राणाले पूर्वराजा अभिभावकका रुपमा मात्र अभियानमा संलग्न रहेको ताएकी थिइन । निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल र संघसंस्थाले राहत वितरण गर्न नपाउने आचारसंहिता लागु गरेपनि कोषले राहत वितरण गर्ने कार्यक्रम नरोक्ने कोषको भनाइ थियो ।


राहतका लागि पूर्वराजाले २५ लाख र अरु विभिन्न व्यक्तिले गरी कोषमा ३९ लाख रुपैया जम्मा भएको जनाइएको छ । कोषले लत्ताकपडा, भाँडाकुँडा र केही नगद रकम प्रदान गर्ने छ । कैलाली, कञ्चनपुर र दार्चुलाका जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध बाढी पीडितहरुको तथ्यांककै आधारमा राहत वितरण गरिने तयारी गरिएको छ ।

 

RSS

 





एकीकृत माओवादीका बाबुराम भट्टराईले बाढी पीडितलाई राहत बाँड्न गएका पूर्वराजा जेल हाल्न माग

 

पूर्व प्रधानमन्त्री तथा एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले बाढी पीडितलाई राहत बाँड्न गएका पूर्वराजा ज्ञानेन्द्रको देश दौडाहा संविधानसभा चुनाव भाँड्ने उद्देश्यले भएको भन्दै जेल हाल्न माग गरेका छन् । हिजो सानेपास्थित आफ्नै निवासमा केही सञ्चारकर्मीसँग भट्टराईले पूर्वराजा ज्ञानेन्द्रको बाहिरी रुप जस्तो देखिए पनि भित्री रुपमा भ्रमणको उद्देश्य राजनीतिक रहेको आरोप लगाए ।

 

ज्ञानेन्द्रले चुनावविरोधी गतिविधि गरिरहेको जिकीर गर्दै म भए म भए थुन्दिन्थे भने । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य र वीपी पुत्र सशांक कोइरालासहितको टोलीले राष्ट्रियताको सवालमा पूर्वराजा तथा पञ्चहरुसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिनु आपत्तिजनक भन्दै उनले यो गणतन्त्र, धर्म निरपेक्षता, संघीयताविरुद्धको षड्यन्त्र हो, भने ।

 

राष्ट्रियताका सवालमा पूर्व राजासँग सहकार्य गर्छु भन्नुलाई उनले उल्टो बुद्धीको संज्ञा दिए । आफू र आफ्नो पार्टी राष्ट्रवादी भएको दाबी गर्दै भट्टराईले आवश्यकता परे आफूहरु सुरुङ युद्ध गर्ने तर्क सुनाए ।

 

RSS