मोरङको बेलबारीमा दलित महिलालाई कालोमोसो दलेको घटनामा संलग्न ६ जनामाथि मुद्दा दर्ता गरेको छ । बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि आक्रोशित गाउँलेले एक युवती र उनको पक्षमा बोल्ने अगुवालाई कालोमोसो दली जुत्ताको माला लगाएका थिए ।
४ महिला र २ पुरुष गरी ६ जनालाई पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दिलीप गिरीले जानकारी दिए । प्रहरीले बेलबारी-३ का जीवन भेट्वाल र अमित भेटवाललाई मंगलबार बेलुका नियन्त्रणमा लिएको थियो भने देविता भेट्वाल, चन्द्रकला भेट्वाल, अम्बिका भेट्वाल र कमला भेट्वाललाई बुधबार बिहान नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई १५ दिनको म्याद थप गरी मुद्दा चलाइएको जनाएको छ ।
मोरङ बेलवारीमा आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी एक महिलामाथि नै आक्रोशित गाउँलेले अमानवीय ढंगले चरम यातना दिएका छन् । बलात्कार प्रयासबाट बचेर उजुरी दिएकी एक दलित युवती र उनको पक्षमा बोल्ने अगुवा पुरुषलाई समेत कुटपिट गर्नुका साथै कालोमोसो दली जुत्ताको माला लगाइएको छ ।
यस अघि प्रकासित समाचार
मोरङ बेलाबारीको २३ वर्षीया युवती र सोही ठाउँका ३० वर्षीय दलित अगुवालाई पीडक पक्ष र गाउँले मिलेर यातना दिएका हुन् । श्रीमान् वैदेशिक रोजगारीमा गएकाले बेलबारीमा एक्लै बस्दै आएकी ती युवतीले घर फर्कने क्रममा गत शनिबार साँझ आपूmलाई स्थानीय जीवन भेट्वालले बलात्कार गर्न खोजेको बताएकी छिन् ।
उक्त घटनाबारे उनले छिमेकी दलित अगुवा मनोज विश्वकर्मालाई सुनाएकी थिइन् । उनकैको सल्लाहमा प्रहरीमा उजुरी गरेपछि प्रहरीले जीवनलाई पक्रेपनि बलात्कार गर्न खोजेको पुष्टि नभएको भन्दै छाडेको थियो ।
त्यसै विषयमा दलितले आपूmहरुलाई भूmटो आरोप लगाएको र सामाजिक बेइज्जती गरेको भन्दै पीडक पक्ष र गाउँलेले स्थानीय अन्नपूर्ण विद्यालयमा सभा बोलाएका थिए ।
छलफलका लागि बोलाएकाले त्यहाँ पुगेकी पीडित युवतीलाई उनीहरुले कुटपिट गर्नुका साथै कालो मोसो दली जुत्ताका माला लगाएका हुन् । महिलालाई यातना दिइसकेपछि सहयोग गरेको भन्दै दलित अगुवा मनोजको घरमै पुगेर उनलाई पनि अमानवीय व्यवहार गरिएको थियो ।
मानवअधिकार आयोगको ध्यानाकर्षण
यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ । घटनाबारे आयोगको क्षेत्रीय कार्यालय -बिराटनगर) ले घटनाको अनुगमन गरिरहेको आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जनाउनुभएको छ ।
आयोगले घटनाको निष्पक्ष छानबिन गरी सत्य-तथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ ।