नेपाल कम्युनिष्ट पार्टीका एक संस्थापक नरबहादुर कर्माचार्यको निधनले एउटा युगको अन्त्य, नेपालका कम्युनिष्ट पार्टीहरु गहिरो शोकमा
श्रावण १० गते, २०७० मा प्रकाशित
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका एक संस्थापक नरबहादुर कर्माचार्यको बुधवार बिहान निधन भएको छ ।
जीवनभर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका कर्माचार्यको निधनले एउटा युगको अन्त्य भएको छ ।
संस्थापक नेता नरबहादुर कर्माचार्यको निधनले टुहुरो बनायो : दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको निधनले आफूहरु टुहुरो भएको महसुस भएको बताएका छन्। ‘कर्माचार्य सिङ्गो कम्युनिष्ट पार्टीका अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनले सम्पूर्ण कम्युनिष्टहरु टुहुरो भएका छन्’, दाहालले भने।
एनेकपा माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्षले कर्माचार्यको निधनले नेपाली जनता, सम्पूर्ण कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु गहिरो शोकमा डुबेका बताए।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यको निधनले सिङ्गो कम्युनिष्टलाई मर्माहत पारेको उल्लेख गर्दै उहाँको सपना पूरा गर्न सबै कम्युनिष्टहरु एक हुनुको विकल्प नभएको उल्लेख गरे।
एमालेले ३ दिन सम्म कुनै औपचारिक कार्यक्रम नगर्ने, पाँच दिनसम्म मुलुकभर आधा झण्डा झुकाउने
नेकपा एमालेले कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको निधनमा शोक व्यक्त गर्दै ३ दिन सम्म कुनै औपचारिक कार्यक्रम नगर्ने र पाँच दिनसम्म मुलुकभरका कार्यालयमा झण्डा आधा झुकाउने भएको छ । एमाले अध्यक्ष झलनाथ खनालले शोक वक्तव्य जारी गर्दै बिहीबार एक दिन कार्यालय बन्द गर्न पनि पार्टीलाई निर्देशन दिएका छन् ।
उनले कर्माचार्यको निधनले नेपालको कम्यूनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छन् ।
‘नेपालको कम्युनिष्ट आन्दोलनले महत्त्वपूर्ण सफलता हासिल गरेको र नेपालको आर्थिक-सामाजिक रुपान्तरणमा नेतृत्वदायी भूमिका खेलिरहेको यस घडिमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने अभियानमा सक्रिय रहनुभएका कमरेड कर्माचार्यको निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको छ,’ खनालको शोक वक्तव्यमा उल्लेख छ ।
राणा विरोधी संघर्षमा २०४६ सालमा पञ्चायत विरोधी आन्दोलनमा०६२-६३ को जनक्रान्तिमा कर्माचार्यले निर्वाह गरेको भूमिका सदैव स्मरणीय रहने खनालले उल्लेख गरेका छन् । ‘उहाँको पार्थिव शरीर हामीबीच नरहेपनि उहाँका विचारहरु र उहाँले देखाउनु भएको मार्ग-निर्देशन हामीबीच सदैव रहिरहने छन्,’ शोक वक्तव्यमा छ ।
1- तस्बिरहरुमा कम्युनिष्ट पार्टीका संस्थापक कर्माचार्यको अन्तिम श्रद्धान्जलीका लागि उपस्थित भएका साझा राजनीतिक गुरु एवम नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह – एवम नेकपा एमाओबादीका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई ।
2- तस्बिरहरुमा कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको निधन
Source: RSS, EKANTIPUR, IMAGECHANNELS/FACEBOOK / Dr. Baburam Bhattarai
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।