लमजुङ । उत्तरी लमजुडको घनपोखरा गाविस वडा नं. ८ प्रोभी गाउँमा पुनः पहिरो गएपछि खुदी खोला विहानैदेखि थुनिएको छ ।
प्रोभीको खरबारी सहितको ठुलो भाग खसेपछि घनपोखरा र खुदीबीचमा बग्ने खुदी खोला थुनिएको हो । यसअघि साउन ४ गते गएको पहिरोलेपनि खोला थुनिएकोमा हालसम्म पन्छाउन सकिएको छैन ।
खोला थुनिएपछि घनपोखरा, सिम्पानी र खुदी गाविसका नदी आसपासका बासिन्दाहरु त्रसित भएका छन् । खोलाका कारण खुदी प्रहरी चौकी, कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र लगायत त्यस वरपरका करिब १२० घर जोखिममा परेको छ ।
खोलामा बाढी आउने भयले खुदीखोला वरपरका बस्तीहरु सँगै चार मेगावाट क्षमताको खुदीखोला जलविद्युत आयोजनापनि प्रभावित भएको छ । खोला कुनै पनि बेला फुट्न सक्ने भन्दै जिल्ला प्रशासनले सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह गरेको छ ।
RSS