चर्पी निर्माणमा उत्साही बन्दै केरुङ्गाका महिलाहरु

– शोभाखर पन्थी 



केरुङ्गा, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको केरुङ्गा ६ की इन्दिरा पराजुलीको जिवनमा सबैभन्दा खुसिको दिन घरमा चर्पी निर्माण भएको दिन थियो । घरमा आम्दानीको स्रोत केहिपनि नभएको र सहारा समेत नहुदा खर्च गरेर जिवनमा कहिल्यै चर्पी बनाउने कल्पना समेत नगरेको उहाँले रुपैया व्याजमा खोजेर एका एक झण्डै २० हजारको लागतमा १० दिनमै चर्पी तयार गर्नुभयो । 



इर्काड्स र प्रकाश सचेतन समूह प्रागको तालिमबाट प्रभावित भएकी पराजुलीलाई चर्पी निर्माण गर्नु त्यति सजिलो थिएन । २०५१ सालमा ३ महिनाको सुत्केरी छोडेर धन कमाउन दिल्ली गएका उहाँका श्रीमान् घर छोडेको केही दिन देखि नै बेपत्ता छन् । घरमा भएकी एउटी छोरीको पनि विवाह भइसकेको छ । उहाँ सानो छाप्रेघर गोठमा बस्दै आउनु भएको छ । आफ्नो नाममा एकआना  जमीन पनि नभएको इन्दिरालाई आफ्नै जेठाजुले खेतिगरी खानको लागि दिएको सानो टुक्रा जग्गा छ ,तर २ महिना पनि खान पुग्दैन । उहाँले छिमेकमा घरायसी काममा सघाएर दैनिक छाक टार्ने गरेको बताउनु हुन्छ । तरपनि इन्दिराको घरमा चिटिक्कको राम्रो आधुनिक शौचालय बनेको छ । गाउँमा स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दै आएकी इन्दिरालाई चर्पीको महत्वको बारेमा ढिलै भएपनि थाहा पाएकोमा निकै खुसी लागेको छ । 



पहिले चर्पीको महत्व थाहा भएन अहिले आफूले चर्पी बनाएपछि गाउँ गाउँमा चेतना फैलाउँदै हिडेकी छु । मैले चर्पी बनाएको देखेर गाउँका अरु छिमेकीहरुले पनि मेरो उदाहरण दिएर चर्पी बनाएका छन् । अहिले बाटाको छेउछाउँ दिसापिसाब देखिन छाडेको छ , गाउँ बिस्तारै सफा सुग्घर बन्दैछ उहाँले बताउनुभयो । 



उहाँले चर्पी भएपछि वर्षादको समयमा निकै सजिलो भएको अनुभव सुनाउनुभयो । एक्ली महिला रातीमा दिसा पिसाब गर्न बाहिर जाँदा जङ्गली जनावर र मान्छेको समेत डर हुन्थ्यो, कतिपटक त चिप्लिएर लडेकी पनि छु । दिसा पिसाब बसेको समयमा मान्छे आएर धेरैपटक भाग्नु परेको थियो आज सबै झन्झटबाट मुक्ति पाएकी छु उहाँको भनाइ छ । 



महिला स्वास्थ्य स्वयसेविका पराजुलीले प्रत्येक दिन २-४ जना दिदिबहिनी सँग चर्पी र सरसफाइको बारेमा कुराकानी हुने गरेको बताउनु हुन्छ । 



जिल्लालाई सन् २०१४ सम्ममा खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान सफल पार्न इन्दिरा जस्तै केरुङ्गाका दर्जनौ महिलाहरु चर्पी निर्माणको अभियानमा जुटेका छन् । स्वास्थ्य, इज्जत, प्रतिष्ठा र सुरक्षाको लागि चर्पीको निक्कै ठूलो महत्व हुने केरुङ्गा स्वास्थ्य चौकीकी मासिका कमला खनाल ले बताउनुभयो । 




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु