भक्तपुरको मनोहरा र बोडेमा पालिएका कुखुरामा फेरि बर्डफ्लु फेला

भक्तपुर  । भक्तपुरको सिपाडोल ९ स्थित हिमाल पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि फार्ममा बाँकी रहेका अन्य कुखुरा आज नष्ट गरिएको छ । प्रभात पसःखलको फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको हो । 
फार्ममा रहेका नौ हजार ५ सय कुखुरामध्ये पाँच हजार ५ सय कुखुरा बर्डफ्लुकै कारण मरेपछि रोग फैलन नदिन बाँकी रहेका चार हजार पाँच सय कुखुरा पनि नष्ट गरिएको पशुसेवा कार्यालय भक्तपुरले जनाएको छ । 
कुखुरा नष्ट गर्न पशुसेवा निर्देशनालय त्रिपुरेश्वर र भक्तपुर पशुसेवा कार्यालय भक्तपुरका प्राविधिक टोली खटिएका थिए । मरेका र मारिएका कुखुरा खाल्डामा गाडिएको छ । 
गत सातादेखि फर्ममा दैनिक ४ सयदेखि ५ सयसम्म कुखुरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयले अनुगमन गरी यही श्रावण ८ गते कुखुरा परीक्षणका लागि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको थियो । 
परीक्षणका क्रममा हिजो उक्त फर्ममा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टी भएको केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालाले जनाएको छ । 
यसअघि पनि भक्तपुरको मनोहरा र बोडेमा पालिएका कुखुरामा बर्डफ्लु फेला परेको थियो ।
RSS