सोही रणनीतिका साथ दुवै माओबादी निर्वाचन केन्द्रीत (पक्ष-विपक्ष) कार्यक्रम लिएर साउन १५ देखि गाउँ पस्दैछन्। एनेकपा माओवादी असार १५ देखि चुनावी वातावरण निर्माणका लागि निर्वाचन क्षेत्र केन्द्रीत अभियानका साथ गाउँ पस्दै छ भने नेकपा माओवादी पनि चुनाव भाँड्ने रणनीति अनुरुप सोही दिनदेखी निर्वाचन क्षेत्र केन्द्रीत चुनाव विरोधी अभियान लिएर गाउँ जाँदैछ। ‘उहाँहरु कसरी कुन रुपमा प्रस्तुत हुनुहुन्छ,’एनेकपा माओवादी दाङका सहईन्चार्ज लुमाकान्त न्यौपानेले भने, ‘उहाँहरुको प्रस्तुती अनुसार हाम्रो कदम अगाडि बढ्छ।’ आफ्ना साथीमाथि प्रतिकार गरिए स्वतः त्यसको प्रतिवाद हुने न्यौपानले बताए। यता नेकपा माओवादीले चुनावी प्रचार प्रसार गर्न जाने जो कोही पार्टीका नेताहरुको अवरोध गरिने चेतावनी दिएको छ। ‘हाम्रो चुनाव विरोधी गतिविधी चलिरहेका बेला चुनावको प्रचार प्रसार गर्न जाने जो कोहीलाई हामी अवरोध गर्छौँ,’नेकपा माओवादी दाङका सर्हन्चार्ज बलबहादुर वलीले भने, ‘नमानेपछिको विकल्प भनेको प्रतिकार मात्रै हो।’
चुनाव भाँड्नका लागि युवा दस्ता निर्माण गरेर लाठी प्रशिक्षण समेत दिइसकेको नेकपा माओवादीले केहिदिन अघि मात्रै पार्टीका ३ केन्द्रीय सदस्यको नेतृत्वमा १०० जना सम्मिलित कमाण्ड टोली समेत निर्माण गरेको छ। जिल्लाका पाँच निर्वाचन क्षेत्रमा २०-२० जनाको समुहमा बनाइएका टोलीले चुनाव विरोधी प्रशिक्षणदेखि ‘वुथ’ कब्जासम्मको रणनीति बनाएका छन्। एकसय जना सम्मिलित टोली साउन १५ देखि गाउँ परिचालन हुँदैछ।
नेकपा माओवादीले जिल्लाकै केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र तोकेर चुनाव विफल बनाउने जिम्मा दिएको छ। जसअनुसार क्षेत्र नम्वर १ र ३ को नेतृत्व माओवादी केन्द्रीय सदस्य तथा पूर्वसभाषद इन्द्रजीत थारुले गरेका छन्। यसैगरी क्षेत्र नम्वर २ मा पार्टी केन्द्रीय सदस्य तथा पूर्वसभाषद दामा शर्माले र ४ र ५ मा केन्द्रीय सदस्य हेमराज शर्माले नेतृत्व गरेका छन्। ‘चुनाव भाँड्नका लागि पार्टीका केन्द्रीय नेताहरुको नेतृत्वमा कमाण्ड टिम निर्माण गरेका हौँ,’नेकपा माओवादी दाङका सहईन्चार्ज वलीले भने ‘यो टिमले युवा परिचालन संगै चुनाव विरोधी प्रशिक्षण तथा मतदान केन्द्र (वुथ) कब्जाको रणनीति लिएको छ।’ नेकपा माओवादीले आफ्नो युवा संगठन जनस्वयंसेवक ब्यूरोलाई चुनाव भाँड्ने प्रमुख शक्ति भनेको छ।
यता एनेकपा माओवादी वैद्य पक्षलाई पेलेरै गाउँ जाने तयारीमा छ। वैद्य पक्षबाट अवरोध गर्न खोजिए प्रतिकारका लागि आफ्नो युवा संगठन वाईसिएललाई परिचालन गर्ने एमाओवादीको रणनीति छ।’हामी कसैको अवरोधको धम्कीले डराउँदैनौ’,’एमाओवादी दाङका सहइन्चार्ज न्यौपानेले भने, ‘हाम्रो युवा संगठन वाइसिएल पनि हामी संगै छ।’ आफूहरु प्रतिरोधको सामना गर्न सक्षम भएको भन्दै माओवादीले प्रतिकार गर्नका लागि पार्टीको निती नियम र निर्णय कुर्नु नपर्ने समेत चेतावनी दिएको छ।
एमाओवादीले गाउँगाउँमा युवाहरुलाई संगठित गरिरहेको छ। तर ती संगठनलाई एमाओवादीले चुनावसँग जोडेर मात्रै हेर्न नहुने बताएको छ। ‘हामीहरुले गाउँ स्तरसम्म युवाहरुलाई संगठित गरिरहेका छौँ,’न्यौपानेले भने ‘तर यी संगठनहरु केवल चुनावलाई लक्ष्यित गरेर मात्रै बनाइएका होइनन्।’
एनेकपा माओवादीले पार्टीका केन्द्रीय सदस्यहरु सहितको चुनावी अभियान टोली प्रत्यक निर्वाचन क्षेत्रमा परिचालन गर्दैछ। उक्त अभियान अन्तर्गत गाउँ जाने टोलीले चुनावको पक्षमा माहोल बनाउन सभा, वैठक लगाएतका कार्यक्रम गर्ने माओवादीले जनाएको छ । एकमहिने चुनावी अभियान अन्तर्गत एमाओवादीले चुनाव केन्द्रीत कार्यक्रम गर्न लागेको हो ।