काठमाडौ – नेकपा-माओवादीले सार्वजनिक कार्यक्रम गरी निर्वाचन मतपेटिका फुटाएको प्रति निर्वाचन आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता बीरबहादुर राईले आज बिज्ञप्ती जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले यस्ता क्रियाकलाप गर्नेलाई कारवाही गर्ने चेतावनी दिए ।
‘मंसिर ४ गते हुन गइरहेको अर्को संबिधान सभा चुनावको वहिस्कार गर्ने नाममा नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले मत पेटिका फुटाएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता बीरबहादुर राईद्वारा जारी बिज्ञप्तीमा भनिएको छ,’जनताको अधिकारलाई मूर्तरुप दिने अभियानमा कुनै किसिमको बाधा अवरोध पैदा नगर्न निर्वाचन आयोग माथि उल्लेखित व्यक्तिलाईसचेत गराउान चाहन्छ ।’
जनताले आफूले छानेका प्रतिनिधिबाट संबिधान जारी गर्ने अवसरबाट बञ्चित गराउाने गरी कुनै पनि क्रियाकलाप नगर्न आयोगले आग्रह गरेको छ । नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले रत्नपार्कमा बिहीबार आयोजित विरोध सभामा हम्मरले हानेर नमूना मत पेटिका फुटाएका थिए । आयोगले मंसिर ४ गते तोकिएको निर्वाचनको लागि साउन ७ गतेबाट आचारसंहिता लागू गरेको छ । निर्वाचन विथोल्ने,जनतालाई भ्रम सिर्जना गर्ने र निर्वाचनमा अवरोध पुर्याउने गरी कुनै पनि काम गर्न संहिताले प्रतिबन्ध लगाएको छ ।
RSS, EKANTIPUR