काठमाडौं । आज जुलाई २९ तारिख । विश्वभर आज बाघ दिवस मनाईएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजन गरी बाघ दिवस मनाइयो । बाघ संरक्षणमा जनचेतना बढाउन यो दिवस मनाउने गरिन्छ ।
यस अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपालमा रहेका बाघको संख्या आज सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको तथ्यांक अनुसार नेपालमा बाघको संख्या १ सय ७६ बाट बढेर १ सय ९८ पुगेको छ ।
जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँटा बन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्षमा सात र बांके राष्ट्रिय निकुञ्जमा चार वटा बाघ रहेका छन् ।
२०६९ साल माघ २३ गतेदेखि २०७० साल जेठ २२ गतेसम्म नेपालमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण गरिएको थियो । क्यामरा ट्रयापिङ प्रविधिबाट बाघको गणना गरिएको थियो भने आहारा प्रजातिको सर्वेक्षण लाइभ ट्रान्जिट विधिबाट गरिएको थियो ।
चितवनमा पाँच वटा बयस्क बाघ घटेका छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १३ वटा बाघ बढेको कोषले जनाएको छ ।
सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउन २००९ देखि बाघ संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सन् २००९ मा नेपालमा बाघको संख्या १ सय २१ मात्रै थियो । गत सय वर्षको अवधिमा विश्वमा सवैभन्दा बढी बाघ विनाश भएको मानिन्छ ।
RSS