अमेरिकाको संघिय जाँच ब्युरो एफ.बी.आईले यौन धन्दामा बालिकाको प्रयोग विरुद्ध कारबाही तीब्र

अमेरिका  । अमेरिकाको संघिय जाँच ब्युरो एफ.बी.आईले यौन धन्दामा बालिकाको प्रयोग विरुद्ध कारबाही तीब्र पारेको छ ।
एफबीआईले ७६ जिल्लामा छापा मारी जबरजस्ति यौनधन्दामा लगाईएका १ सय ५ जना बालिकाको उद्धार गरेको छ । होटल, क्यासिनो र सोसल मिडियामा काम दिलाउने प्रलोभन देखाई सयौं बालिकालाई यौनधन्दामा संलग्न गराउने गरिएको खुलासा भएपछि छापा मारिएको हो । 
अमेरिकाको सन फ्रान्सिस्को, डेनवर र न्यु अरलियन्स शहरका अधिकांश होटल र क्यासिनोमा बालयौन धन्दा हुने गरेको खुलासा भएको छ । छापा मार्ने क्रममा यौनधन्दा गराउने १ सय ५० जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरु दोषी ठहर भएमा १० बर्षसम्मको जेल सजायँ हुने अमेरिकी अधिकारीहरुले जनाएका छन् । 
उद्धार गरिएका बालिकाहरु १३ देखि १७ बर्षको उमेर समूहका रहेका छन् । सन् २००३ देखि थालिएको यो अभियानमा हालसम्म २७ सय बालीकालाई उद्धार गरिएको एफ.बी.आईले जनाएको छ । जबरजस्ती यौनधन्दामा लगाउने बाहेक अमेरिकाका करीब ४ लाख बालिकाहरु घरबाट भागी यौनधन्दामा लाग्ने गरेको पनि एफ.बी.आईले जनाएको छ ।
Agencies