पाकिस्तानको नयाँ राष्ट्रपतिमा मम्नुन हुसैन निर्वाचित

पाकिस्तानका नयाँ राष्ट्रपति हुसैन

इस्लामावाद  । पाकिस्तानको नयाँ राष्ट्रपतिमा मम्नुन हुसैन निर्वाचित भएका छन् । तर, निर्वाचनको आधिकारीक नतिजा भने सार्वजनिक भइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सत्तारुढ पाकिस्तान मुश्लिम लिग एनका तर्फबाट हुसैन उम्मेदवार बनेका थिए । 



पाकिस्तानी सञ्चारमाध्यमहरुले हुसैनले ६ सय ७४ मध्ये ४ सय इलेक्टोरल मत प्राप्त गरेको जनाएका छन् । हुसैनलाई तहरिक ए इन्साफ पार्टीका बजिहुद्दीन अहमदले चुनौति दिएका थिए । 



सिन्ध प्रान्तका पूर्व गभर्नर हुसैन वर्तमान प्रधानमन्त्री नवाज शरिफ निकट मानिन्छन् । राष्ट्रपति निर्वाचनमा मिति सारिएपछि प्रमुख विपक्षी दल पाकिस्तान पिपुल्स पार्टीले आजको निर्वाचन बहिष्कार गरेको थियो । 



वर्तमान राष्ट्रपति आशिफ अली जर्दारीको पाँच वर्षे कार्यकाल आगामी सेप्टेम्बर ८ मा सकिंने भएकाले नयांँराष्ट्रपतिको चुनाव भएको हो । 



राष्ट्रपति पदको मतदानमा पाकिस्तानका सांसद र चार प्रान्तका विधानसभाका सदस्यले मतदान गर्ने व्यवस्था छ । 



पाकिस्तानका नवनिर्वाचित राष्ट्रिपतिका लागि पनि शान्ति सुब्यवस्था कायम गर्नु र आतंकवादबाट मुलुकलाई जोगाउनु चुनौति हुनेछ ।



Agencies