डा.चित्रप्रसाद शर्मा वाग्लेको उपचार अब असम्भव, राजीव गान्धी अस्पतालमा उपचारका हरसम्भव प्रयास असफल


 

– एपेन्डिक्सको क्यान्सर फैलदै कलेजोसम्म पुगेपछिमात्रै यसबारे पत्तो पाएका चिकित्सक डा.चित्रप्रसाद शर्मा वाग्लेको उपचार असम्भव देखिएको छ ।

 

कान्तिपुरले आफ्नो अन्लाईनमा प्रकासित गरेको समाचार अनुसार एक बर्षयता रोहिणीस्थित राजीव गान्धी अस्पतालमा उपचाररत डा. वाग्लेलाई थप उपचारका लागि अमेरिका/क्यानडा जान सिफारिस गरिएको छ । १८ वटा चरणमा ‘किमो’ दिइसक्दा पनि स्थिति सहज नबनेपछि शल्यक्रिया गर्नेसहितको सम्भावना अहिलेलाई टरेको भन्दै अस्पतालले गत शुक्रबार ‘डिस्चार्ज’ प्रकृयाका लागि पत्र दिएको छ ।

 

डा. वाग्ले १२ वर्ष अर्घाखाँचीमा बसेर सेवा गरी जिल्लाबासीका निकै प्रिय बनेका थिए ।

 

राजीव गान्धी अस्पतालमा उपचारका हरसम्भव प्रयास गरेपनि असफल स्थिति भएपछि नयाँ औषधी ‘ट्रायल’का निम्ति विदेश जान सिफारिस गरिएको हो ।

 

अर्घाखाँची जिल्लाको सरकारी अस्पतालमा १२ बर्षसम्म ईन्चार्ज रहेका वाग्ले छात्रवृत्तिमा एमपीएच (मास्टर इन पब्लिक हेल्थ) पढ्न थाइल्याण्ड गएका बेला डेढ बर्षअघि उनमा क्यान्सर फैलिएको थाहा भएको थियो । विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा एमपीएच गर्न बैंकक पुगेको छ महिनामै उनी रोग लिएर नेपाल फिरेका थिए । अहिले पेटबाट आन्द्रा झिकेर बाहिर ‘कोलोस्टमी ब्याग’मा राखिएको अवस्थामा श्रीमती पूजालाई साथ लिएर उनी हिँडडुल गरिरहेका भेटिन्छन् ।

 

रुपन्देही मुर्गियाका ४४ वर्षीय वाग्लेले रुसबाट एमडी (जनरल फिजिसियन) गरेका छन् । उनले अर्घाखाँची सरकारी अस्पतालाई १५ बाट ३२ बेडमा बिस्तार गर्नेदेखि २४ घण्टै उपचार सेवा, आपत्कालिन रक्त व्यवस्था, प्रश्रुति तथा शल्यक्रिया सेवा आदिको विस्तार गरेका थिए । दुई ससाना छोरी र एक छोराका बाबु वाग्लेले उपचार क्रममा पैसा जुटाउन आफूसँग रहेका एक्सरे मेसिन, मेडिकल औजार समेत बिक्री गरिसकेका छन् ।

 

‘नेपाल सरकारले ५ लाख रुपैंया दिएको थियो, यति खर्चले एक महिना पनि धान्न नसकिने स्थिति छ,’ रोहिणीस्थित अस्पताल परिसरमा उनले भने, ‘यहाँ अस्पतालले डिस्चार्ज हुन भनिसकेको छ, थप उपचार परीक्षणमा मेरो अमेरिका वा क्यानडा जान सामर्थ्य छैन ।’ उनले काठमाडौंको धापासीमा रहेको एउटा घर बिक्री गरेर भए पनि उपचारको अन्तिम प्रयास गर्ने भएका छन् । तर श्रीमती र छोराछोरीको बिचल्ली हुने स्थिति सम्झेर बिक्री गर्न सकिहालेका भने छैनन् ।


वाग्लेको परिवारले एक बर्षको अवधीमा झण्डै ६० लाख रुपैयाँ उपचारमा खर्चेको छ ।

 

 

समाचार स्रोत: ईकन्तिपुर / देवेन्द्र भट्टराई

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु