भक्तपुर । बर्डफ्लूको उच्च जोखिममा रहेको भक्तपुरमा थप तीन वटा पोल्ट्री फार्मको कुखुरामा बर्डफ्लू भेटिएको छ । भक्तपुरको नंखेल-२ स्थित जीजे पोल्ट्री फार्म, भक्तपुर नगरपालिका लाकुलाछेस्थित विमल धिमसुको पोल्ट्री फार्म र बागेश्वरी गाविसको कृष्णराम छुस्यावागको फार्ममा रहेका सबै कुखुरामा बर्डफ्लू भेटिएको जिल्ला पशुसेवा कार्यालयले जानकारी दिएको छ ।
हिजो साँझ पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले तीन वटा फार्ममा रहेको कुखुरामा बर्डफ्लूको संक्रमण भएको प्रमाणित गरेपछि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको निर्देशनमा रातिदेखि नै संक्रमित कुखुरा नष्ट गरिएको हो ।
राती नै धिमसुको फार्मका पाँच हजार २ सय २० वटा लेयर्स कुखुरा र ८५० किलो दाना नष्ट गरिएको छ । विहान भने भक्तपुर नंखेलको जीजे फार्मका कुखुरा नष्ट गरिएको हो । कुखुरा र दाना नष्ट गरे पनि व्यवसायीले कुखुराको अण्डा भने टोली पुग्नुअगावै बजारमा बेचेको पाइएको छ ।