चुनाव वहिष्कारको नीति लिएको नेकपा-माओवादी संविधानसभाको दोश्रो चुनाव गराउन लागि परेको सरकारसँग वार्तामा बस्न सकारात्मक

चुनाव वहिष्कारको नीति लिएको नेकपा-माओवादी संविधानसभाको दोश्रो चुनाव गराउन लागि परेको सरकारसँग वार्तामा बस्न सकारात्मक देखिएको छ।


सरकार र उच्चस्तरीय राजनीतिक समितिका यसअघिका वार्ता-प्रस्ताव स-शर्त रहेको भन्दै वार्तामा बस्न नमानेको उक्त दलले बुधवार सरकारले पठाएको पत्रलाई भने सकारात्मक ठहर्‍याउँदै वार्ताबारे छिट्टै निर्णय लिने जनाएको हो।


तर सरकारले पत्रमा शर्त उल्लेख नगरे पनि मंसिर ४ गते तोकिएको संविधानसभा चुनावको विकल्प खोज्न नसकिने प्रतिकृया दिएको छ।

यसअघि सरकार र उच्च स्तरीय समितिले पठाएका पत्रको जवाफ दिन बिराएर पठाउने गरेको मोहन-वैद्य नेतृत्वको नेकपा-माओवादीले सरकारको पछिल्लो पत्र पाएकै दिन बुधवार प्रेस-नोट जारी गर्दै त्यो पत्र सकारात्मक रहेको टिप्पणी गरेको छ।

 

पत्रमा शर्त नराखिएकाले वार्ताको सम्भावना नजिकिएको प्रवक्ता पम्फा भुषालले बताइन्।


उनले भनिन्, “शर्त रहित वार्ता प्रस्ताव आएकाले हामीले सरकारको पत्रलाई सकारात्मक मानेका छौं, वार्ताबारे हामीले छिट्टै निर्णय गर्छौं।”


सरकारले असन्तुष्ट पार्टीहरुसँग वार्ता गरी उनीहरुलाई आफुले गराउन लागेको चुनावमा सहभागी गराउन गृहमन्त्री माधव घिमिरेको नेतृत्वमा वार्ता टोली बनाएको छ।

 

सरकारले वार्तामा मंसिर ४ गते प्रस्तावित चुनावको विकल्पबारे कुरा गर्न नसकिने प्रतिकृया दिएको छ।


संचारमन्त्री तथा सरकारका प्रवक्ता माधव पौडेलले भने, “हामी मंसिरमा चुनाव गराउन दृढ र प्रतिवद्ध भएर लागेकाले त्यसको विकल्पबारे कुरा गर्न सक्ने स्थितिमा छैनौं, तर पनि हामी नेकपा-माओवादीसँग वार्ताको टेवुलमा बसेर उहाँहरुको कुरा सुन्न आतुर छौं।”


सरकारी निम्तोलाई सकारात्मक भनेको नेकपा-माओवादी र उ संलग्न मोर्चाले सरकार विघटन र चुनावी प्रकृया स्थगित हुनु पर्ने अडान छाडेको छैन।


त्यसैले चुनाव गराई छाड्ने प्रतिबद्धता लिएको सरकार र असन्तुष्ट माओवादीको मोर्चाबीच हुने वार्ताको टेबुलमा भने दुबै पक्षका शर्तहरु पेश हुने निश्चित जस्तै छ।


यस्तो स्थितिमा मंसीर ४ गते नै चुनाव गराउने गरी दुबै पक्ष एकै ठाउँमा आउन सक्ने सम्भावना निकै कमजोर देखिन्छ।

 

RSS, BBCNEPALI