न्यूर्योक । अमेरिकी गोप्य सूचना चुहाउने जासूसी विभागका कर्मचारी स्नोडेनलाई रुसले शरण दिएकामा अमेरिका रुससँग रुष्ट भएको छ । विमानस्थलमा रहेका स्नोडेनलाई आफ्नै राष्ट्रमा रहन रुसले अनुमति दिएको थियो ।
सञ्चारकर्मीलाई जानकारी नदिई रुसी अधिकारीहरुले उनलाई रुसकै कुनै शहरमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्नोडेनले भने रुसले शरण दिएकामा धन्यवाद दिंदै अमेरिकी रवैयाको आलोचना गरेका छन् ।
अमेरिका अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नबाट चुकेको टिप्पणी गर्दै स्नोडेनले अन्य राष्ट्रबाट पाठ सिक्न अमेरिकालाई सुझाव दिएका छन् ।
सूचना चुहाएको आरोप लागेपछि स्नोडेन गत जुन २३ मा हङकङ हुँदै मस्को पुगेका थिए ।
अमेरिकाले उनलाई पक्रेर सुपुर्दगी गर्र्न रुसलाई बारम्बार आग्रह गरेका बेला उल्टै शरण दिनुले आगामी सेप्टेम्बर २० मा रुसमै हुने दुई देशका राष्ट्रपति सम्मिलित शिखर वार्ता पनि अनिश्चित बनेको जनाइएको छ ।
Agencies