नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनसँग भेटवार्ता गरेका छन् । पार्टी कामले अमेरिका पुगेका खनालले नेपालको लोकतन्त्र, शान्ति प्रक्रिया र आउँदो संविधानसभा चुनावका विषयमा बिहीबार बिहान महासचिव वानसँग छलफल गरेका जनाइएको छ ।
भेटका क्रममा महासचिव बानले नेपालको राजनीतिक अवस्थाबारे चासो राखेका थिए । खनालले भने सरकार र दलहरु संविधानसभाको निर्वाचनमा जुटेको भन्दै चुनावको तयारीबारे जानकारी गराएका थिए ।
महासचिव बानले संविधानसभा निर्वाचनलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा भएको भेटमा अध्यक्ष खनालले महासचिव बानलाई धामिर्कस्थल लुम्बिनी भ्रमणका लागि आमन्त्रण पनि गरेका थिए ।
भेटमा लुम्बिनी विकास परियोजनाबारे छलफल पनि भएको न्यूयोर्कस्थित नेपाली राष्ट्रसंघीय स्थायी नियोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
भेटमा एमाले अध्यक्ष खनालका साथमा राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगकी प्रतिनिधि सेवा लम्साल अधिकारी, एमाले नेता भीम रावलको पनि सहभागिता थियो ।
खनाल शुक्रबार र शनिबार हुने नेपाली प्रवासी मञ्च अमेरिकाको अधिवेशन उद्घाटन गर्न तीन दिनअघि अमेरिका प्रस्थान गरेका थिए ।
Source: RSS, ONLINE Media