राजधानी काठमाडौंको बबरमहलमा ४ जनाको ज्यान जाने गरी विष्फोट गराउने ५ जना पक्राउ

काठमाडौं  । राजधानी काठमाडौंको बबरमहलमा ४ जनाको ज्यान जाने गरी विष्फोट गराउने संयुक्त जातीय मुक्तिमोर्चा नामक समूहका ५ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रकुमार तामाङ, सनबहादुर परियार, निमा शेर्पा, सन्तोष माझी र भानीनाथ रहेका छन् । भानीनाथ माओवादीका पूर्व लडाकू समेत हुन् ।


महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुबाट बम बनाउन प्रयोग हुने सामग्री, चन्दा रसिद तथा विभिन्न प्रचा पम्प्लेट बरामद भएको प्रहरीले जनाएको छ ।


२०६७ साल फाल्गुनमा बबरमहलस्थित नेपाल आयल निमम अगाडि भएको बम विष्फोटमा चार जना सर्वसाधारणको ज्यान गएको थियो । बमकाण्डको केही समयपछि सो समूहका नाइके विश्वक्रान्ती भनिने देवराज लामा पक्राउ परेका थिए ।


ललितपुरको नख्खु कारागारमा रहेका लामाकै निर्देशनमा समूहका अन्य व्यक्तिहरु सञ्चालित रहेको पनि प्रहरीले बताएको छ ।


महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विजयलाल कायस्थले हिजो पक्राउ परेका ब्यक्तिहरुसँग जेलमा रहेका लामाले पठाएको गोप्य चिठ्ठी फेला परेको हामीलाई जानकारी दिए ।
 
उनीहरुले सर्वसाधरण, उद्योगी व्यावसायी र व्यापारीबाट लाखाँै रुपैयाँ चन्दा असुल्ने गरेको र चन्दा दिन नमान्नेहरुलाई लक्षित गरी विष्फोटका घटना गराउने षड्यन्त्र गरिहेको पाइएको पनि प्रहरीले बताएको छ ।

 

rss