उच्चस्तरीय राजनीतिक समितिका संयोजक रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मोहन वैद्य नेतृत्वको माओवादी चुनावमा आउने सम्भावना निकै न्यून रहेको बताएका छन्।
नेकपा-माओवादीले नेतृत्व गरेको ३३ दलीय भनिएको मोर्चासँगको औपचारिक वार्तापछि पोखरा पुगेका प्रचण्डले मंसीर चारमा चुनाव सुनिश्चित हुने गरी मात्र असन्तुष्ट समूहका माग पुरा गरिने प्रष्ट्याए।
सरकारपक्षीय दलहरुको संयन्त्रसँगको औपचारिक वार्तामा मंसिर चारको चुनाव स्थगन सहित १८ बुदेँ माग नेकपा-माओवादीले नेतृत्व गरेको मोर्चाले मंगलबार प्रस्तुत गरेपछि प्रचण्डको पछिल्लो भनाइ आएको हो।
असन्तुष्ट दलहरुसँग निशर्त वार्ता गर्न तयार भएका सरकारलाई समर्थन गरिरहेका दलहरु बैद्य नेतृत्वको माओवादी चुनावमा सहभागी हुनेमा कम आशावादी देखिएका छन्।
उच्चस्तरीय राजनीतिक समितिले मंगलबार मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको आठदलीय मोर्चा र नेकपा-माओवादीले नेतृत्व गरिएको भनिएको ३३ दलिय मोर्चासँग छुट्टा छुट्टै वार्ता गरेका थिए।
चुनाव बहिष्कार आन्दोलन गरिरहेका माओवादीसम्बद्ध मोर्चाले सडकमा उठाँउदै आएका २५ बुँदे बाधाअडकाउ फुकाउ आदेश खारेजी र चुनाव स्थगन लगायतका माग वार्तामा राखेको थियो।