काठमाडौं । वर्ड फ्लु नियन्त्रणमा नआउँदै कुखुरा ओसारपसारमा लगाएको प्रतिबन्ध फुकुवा गरेको पशु सेवा विभागले बर्ड फ्लु नभएको प्रमाणपत्र प्राप्त गरेपछि मात्रै विक्री, वितरण गर्ने गरी प्रतिबन्ध फुकुवा गरिएको बताएको छ ।
सरकारी अनुमति लिएर मात्र फर्मबाट कुखुरा बजारमा पठाउनुपर्ने विभागको भनाइ छ । पशु सेवा विभागबाट अनिवार्य र्यापिड टेष्ट गरी स्वस्थ ठहरिएका पंक्षीलाई बजारमा बिक्री गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।
प्रत्येक दिन बिहान र बेलुका काभ्रेको साँगाभन्ज्याङ, काठमाडौको नागढुंगा, फर्पिङ र नागार्जुनमा विभागका प्राविधिक टोलिले कुखुरा परीक्षण गरेर मात्रै उपत्यका भित्र्याउने र बाहिर पठाउन अनुमति दिएको विभागले जनाएको छ ।
व्यवसायीको फर्मबाट कुखुरा निकालेदेखि नै परीक्षण गरिने भएकाले बर्ड फ्लु संक्रमित पंक्षी र पंक्षीजन्य वस्तु बजारमा जान नपाउने विभागको दाबी छ ।
नाकाहरुमा परीक्षणका क्रममा संक्रमित कुखुरा भेटिए तत्काल नष्ट गरिने दाबी पनि गरिएको छ । उपत्यकाभित्रका कुखुरा फर्म तथा मासु पसलमा पनि नियमित अनुगमन हुने विभागले जनाएको छ ।
व्यवसायीहरुले पनि उपभोक्तालाई स्वस्थकर मासु खुवाउन आफूहरु पनि प्रतिबद्ध रहेको बताएका छन् । सरकारले भक्तपुर, काठमाडौको थानकोट र कीर्तिपुर क्षेत्रलाई प्राथमिकतामा राखी उच्च सतर्कता अपनाउने घोषणा समेत गरेको छ ।
RSS