निर्वाचन आयोगद्धारा फोटोसहितको नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुलाई समेट्न समय थप्ने तयारी

धनगढी – निर्वाचन आयोगले फोटोसहितको नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुलाई समेट्न समय थप्ने तयारी गरेको छ । आयोगका आयुक्त रामभक्त पीबी ठाकुरले मतदाता नामावलीमा नाम छुटेका मतदाताको नाम सङ्कलन गर्न आयोगले केही समय थप्न लागेको खुलासा गरे ।



धनगढीमा पत्रकारसँग कुरा गर्दै उनले आगामी मङ्सिरमा हुने निर्वाचन प्रयोजनका लागि छुटेका मतदाताको नामावली सङ्कलनका लागि आयोगले आवश्यक काम गरिरहेको जानकारी दिए ।



उनले घोषित मिति आगामी मङ्सिर ४ गते नै संविधानसभाको निर्वाचन सम्पन्न गर्ने गरी आयोगले काम गरिरहेको  जानकारी दिँदै केही गरी चुनावको मिति सरेको अवस्थामा पनि आयोगको काममा कुनै असर नपर्ने बताए ।  



उनले मेचीदेखि महाकालीसम्म एकै चरणमा चुनाव हुने जानकारी दिए । आगामी मङ्सिरमा संविधानसभाको निर्वाचन गर्ने प्रयोजनका लागि आयोगले मतदाता नामावली सङ्कलन गर्ने अन्तिम म्याद विस २०७० असार मसान्तसम्म तोकेको थियो ।



तोकिएको अन्तिम म्यादसम्म पनि सबै मतदाता समेटिन नसकेको गुनासो बढेपछि आयोगले छुटेका मतदाताका लागि नामावली सङ्कलन गर्ने मनस्थिति बनाएको जनाएको छ ।



निर्वाचन आयोगको आयोजनामा आजदेखि निर्वाचन र सञ्चार विषयक क्षेत्रीय प्रशिक्षक प्रशिक्षण पनि सुरु भएको छ ।



RSS