वैद्य नेतृत्वको नेकपा-माओवादीद्धारा अब निर्वाचनको साटो मुठभेड हुने सम्भावना बढेको उल्लेख

सरकार परिवर्तन र चुनावको मिति सार्ने लगायतका आफ्ना मागमा प्रमुख दलहरु सहमत नहुने लक्षण देखिएपछि मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले अब निर्वाचनको साटो मुठभेड हुने सम्भावना बढेको जनाएको छ।


ऊ बाहेकका अन्य मुख्य असन्तुष्ट दलहरुलाई भने समानुपातिक तर्फबाट निर्वाचित हुने सीट संख्या बढाएर भएपनि मंसिरमा हुने निर्वाचनका सहभागी गराउने सरकार समर्थक दलहरुको योजना देखिएको बेला माओवादीको सो धारणा आएको हो।

पछिल्लो समय सरकार समर्थक चार राजनीतिक शक्तिका नेताहरुले सरकार परिवर्तन र मिति सार्ने कुरा आफुहरुलाई अमान्य हुने सार्वजनिक भनाईहरु राख्न थालेका छन्।


यदि असन्तुष्ट दलहरुको चित्त बुझ्छ भने समानुपातिकतर्फ निर्वाचित हुनेको संख्या बढाउन भने सकिने उनीहरुले संकेत गरेका छन्।


त्यस्तो धारणा पछिल्ला समयमा नेपाली कांग्रेसका नेताहरुले पनि राख्न थालेका हुन्।


तर मुख्य दलहरुको सो भनाईले वैद्य माओवादीको चित्त नबुझ्ने प्रष्ट छ। उक्त दलका उपाध्यक्ष सी पी गजुरेलले त अब चुनाव होइन मुठभेड हुनसक्ने सम्भावना व्यक्त गरे।