प्रकाश तिमल्सिना, नागरिक
काठमाडौं- मोहन वैद्य नेतृत्व नेकपा-माओवादी राष्ट्रिय कर्मचारी संगठन दुई टुक्रमा विभाजित भएको छ। निवर्तमान पूर्व अध्यक्ष महादीप पोखरेल र निवर्तमान उपाध्यक्ष दयाराम बस्यालको नेतृत्वमा छुट्टाछट्टै कमिटी गठन भएका छन्। पोखरेलको नेतृत्वमा १ सय ५ सदस्सीय तथा बस्यालको नेतृत्वमा ९५ सदस्सीय केन्द्रीय कमिटी गठन भएका हुन्। गत साउन २५ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन समापनको दिनमा दुइटा कमिटी निमार्ण भएका हुन्।
संस्थापक अध्यक्ष रुक्म लामिछानेले बस्याल नेतृत्व कमिटी आधिकारिक भएको बताए। ‘बस्यालजीको नेतृत्वमा गठन भएको कमिटीलाई हलले सानदारसाथ अनुमोदन गरेको छ,’ लामिछानेले नागरिकन्युजसँग भने, ‘यो नै आधिकारिक संगठन हो, अरु कसले के गर्यो त्यो हामीलाई थाहा छैन।’ उनका अनुसार बस्याल नेतृत्व संगठनले आधिकारिकता पाउनेछ।
अध्यक्ष पोखरेलले बस्याल नेतृत्व संगठन आधिकारिक नभएको बताए। ‘ २ सय ५० प्रतिनिधिमध्ये २ सय प्रतिनिधिले हामीलाई अनुमोदन गरेको हो,’ पोखरेलले भने, ‘पम्फा भुषाल (पार्टी प्रवक्ता) र रुक्मजी मिलेर बस्यालजीको नेतृत्वमा कमिटी गठन गरेका हुन्। त्यसलाई अधिवेशनले चयन गरेको नै होइन्।’
उनका अनुसार अधिवेशन समापन भएपछि अर्को पक्षले नयाँ कमिटी गठन गरेकाले त्यसको कुनै तुक छैन। पोखरेल नेतृत्व संगठनले सम्बाद डबली (अनामनगर)मा पत्रकार सम्मेलन गरेर आफू आधिकारिक भएको जिकिर गरेको थियो।