काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको मोर्चासँग साउन ३० गतेसम्ममा वार्ता टुंग्याउने निर्णय गरेको छ । नयाँ बानेश्वरमा आज बसेको समितिको बैठकले ३० गतेसम्ममा वार्ताका लागि पहल कायम राख्ने र वार्तामा आए पनि नआए पनि मंसिर ४ को निर्वाचन भने नरोक्ने निर्णय गरेको छ ।
भोलि उपेन्द्र यादव नेतृत्वको मोर्चासँग वार्ता गर्ने निर्णय समितिले गरेको छ । समितिले छुटेका मतदाताहरुलाई अवसर दिनका लागि नामावली संकलनको काम फेरि थाल्न निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ ।
समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलाई टेलिफोन गरी नामावली संकलनको समय थप्नका लागि आग्रह गर्नुभएको थियो । समिति सदस्यहरुबीच आगामी ३० गतेपछि उच्चस्तरीय राजनीतिक समितिलाई पनि निष्क्रिय बनाएर सबै दल निर्वाचनमा केन्द्रित हुने सहमति बनेको छ ।
RSS