जेरुसेलम । लामो समयदेखि आफ्नो कारागारमा बन्दी बनाइराखेको २६ प्यालेष्टाइनी कैदीलाई इजरायलले रिहा गरेको छ । इजरायल र प्यालेष्टाइनबीच आजबाट प्रत्यक्ष वार्ता सुरु हुन लागेको शान्तिवार्ता सफल बनाउन इजरायलले आफ्नो जेलमा रहेका बन्दीलाई छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार मंगलवार साँझ इजरायलबाट छुटेर आएका बन्दीलाई प्यालेष्टाइनी राष्ट्रपति मोहम्मुद अब्बासले स्वागत गरे । राष्ट्रपति निवासमा रिहा भएका आफ्ना नागरिकसँग खुशी साट्दै अब्बासले यो सुरुवात मात्र भएको र इजरायली जेलमा बन्दी बनाइएका सबै प्यालेष्टाइनी नागरिकलाई घर फर्काइने बचन दिए ।
आजबाट दुई देशका प्रतिनिधिबीच प्रत्यक्ष सुरु हुने शान्तिवार्ता सफल बनाउन लामो समयदेखि बन्दी बनाइएका ७८ प्यालेष्टाइन नागरिकलाई छाड्न इजरायलले सहमति जनाएको छ ।