एमालेले संविधानसभा चुनावमा प्रत्येक बुथमा युथफोर्स कार्यकर्ता परिचालन गर्ने

अमर खड्का, नागरिक

 

इटहरी – मोरङको गोठगाउँमा दुई दिनसम्म चलेको नेकपा एमाले युवा संघ केन्द्रीय कमिटी बैठकले संविधानसभा चुनावमा प्रत्येक बुथमा युथफोर्स कार्यकर्ता परिचालन गर्ने प्रस्ताव पारित गरेको छ। अध्यक्ष झलनाथ खनालको निर्देशन विपरित गरिएको बैठकले ‘एभ्री बुथ, इफेक्टिभ युथ’, को नारा सहित हरेक बुथमा युथफोर्स परिचालनको निर्णय गरेको हो।
 
बैठकले मतदान केन्द्रमा युथफोर्स परिचालन गर्ने उद्देश्यले महिला युथफोर्स गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ। धरानमा भोलि र पर्सी हुने युवा संघको राष्ट्रिय महिला भेलाले महिला युथ फोर्स गठन गर्ने जनाइएको छ। भेलाको उपाध्यक्ष विद्यादेवी भण्डारीले उद्‌घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

यसैगरी चितवनमा भदौ २९ र ३० गते राष्ट्रिय कार्यकर्ता भेला गरी पुरुष युथफोर्स गठन गरिनेछ। ‘क्रान्तिको प्रतीकको रुपमा अब युथ जन्माउन लागेका छौं’, बस्नेतले भने- ‘यसले एमालेलाई पहिलो पार्टी बनाउनेछ।’


बैठकले समानन्तर भेलाको आयोजना गर्ने झपट रावल, सूर्य ढकाल, दिल पन्तलाई स्पस्टिकरण सोध्ने निर्णय पनि गरेको छ। संगठनको नीति नियम विपरिच चलेको भन्दै उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको अध्यक्ष बस्नेतले बताए। १ महिनाभित्र चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने निर्णय बैठकले गरेको छ।


एमाले वरिष्ठ नेता केपी शर्मा ओलीलाई चुनावको कमान्डर घोषणा गरेर अघि बढ्नुपर्ने प्रस्ताव पनि गोठगाउँ बैठकले पारित गरेको छ। झलनाथ खनाल यसअघि प्रधानमन्त्री भइसकेको एवं माधवकुमार नेपाल महासचिव भइसकेको हुँदा ओलीलाई पार्टीको नयाँ कमान्डरको जिम्मेवारी दिनुपर्ने ठहर युवा संघले गरेको हो।१३५ जनाको युवा संघ केन्द्रीय कमिटीमध्ये ९१ जना उपस्थित नै भएको र १२ जनाले लिखित रुपमा समर्थन जनाएको भन्दै बैठक बैधानिक भएको दाबी अध्यक्ष बस्नेतले गरेका थिए।


युवा संघ दुई गुटमा विभाजन भएपछि एमाले अध्यक्ष झलनाथ खनालले हिजै सबै बैठक तथा भेला स्थगित गर्न लिखित निर्देशन दिएका थिए। निर्देशन लत्याउँदै बस्नेत पक्षले बैठक चलाएको थियो भने असन्तुष्ट पक्षले भेला स्थगित गरेको थियो।


उपाध्यक्ष झपट रावल, दिलकुमारी पन्त, सूर्य ढकाल, राजु गुरुङ, सचिव नरेशकुमार शाही, मञ्जु यादव, सरोजदिलु विश्वकर्मा, हस्तबहादुर शाही, क्रान्ति बुर्लाकोटी र अशोक चन्दले संयुक्त विज्ञप्ति प्रकाशित गरी बस्नेत एक्लै अघि बढ्न खोजेकाले समस्या उत्पन्न भएको आरोप लगाएका थिए।