इजिप्टमा सेना प्रमुखले देशमा हिंसा भड्केमा सेना चूप नबस्ने भन्दै मुर्सीका समर्थकहरुलाई चेतावनी

इजिप्ट  । इजिप्टमा सेना प्रमुखले देशमा हिंसा भड्केमा सेना चूप नबस्ने भन्दै अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीका समर्थकहरुलाई चेतावनी दिएका छन् । जनरल अब्दुल फतह अल सीसीले देशलाई पुनर्निर्माण र प्रजातान्त्रिक बाटोमा हिडाउन योगदान दिन आग्रह गर्दै सबैका लागि देशमा स्थान रहेको पनि प्रष्ट गरेका छन् । 
सेनाको हस्तक्षेपमा सयौं प्रदर्शनकारी मारिएको पाँच दिनपछि सैनिक प्रमुखले हिंसा मच्चाइएको अवस्थामा सेना चूप रहन नसक्ने चेतावनी दिएका हुन् । शान्तिपूर्ण बाटोबाटै समस्याको समाधान खोज्न गरेको प्रयासलाई कमजोरी ठानेपछि परिस्थिति बिग्रेको उनको भनाइ छ ।
 विरोधीहरुसँग मिलेरै जान आफू तयार रहेको पनि जनरल सीसीको भनाइ छ । तर मुर्सी समर्थकले भने आफ्नो प्रदर्शन जारी जारी नै रहने जनाएको छ । हिजो पनि देशभर भएको हिंसामा अरु ७९ जना मारिएको तथा जेल तोडेर भाग्न खोज्ने मुश्लीम ब्रदरहुडका ३६ कार्यकर्ता मारिएको खबर छ ।
 सयौं घाइते भएका छन् । सैन्य समर्थित सरकारले भने विपक्षीहरुको प्रदर्शनलाई आतंकवादी क्रियाकलापको संज्ञा दिन थालेको छ । यसैका आधारमा सरकारले मुर्सीको मुश्लिम ब्रदरहुड पार्टीलाई प्रतिबन्ध लगाउने तयारी गरेको अन्तरिम सरकारका प्रधानमन्त्रीले बताएका थिए । जुलाई ३ मा मुर्सीलाई सेनाले अपदस्थ गरेपछि भड्को हिंसामा झण्डै एक हजार मारिइसकेका छन् ।
Agencies