ओखलढुंगा – ओखलढुंगाको मोली गाविसमा परीक्षणका रूपमा कुकुर, बिरालो र सुंगुरलाई महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन संगिनी सुई लगाउन थालिएको छ । घरमा कुकुरको बच्चा धेरै भएपछि मोलीकी मातृ शिशु कार्यकर्ता विनिता रुम्दालीले यो प्रयोग गरेकी हुन् ।
‘कुकुरले धेरै बच्चा जन्माएपछि यो परीक्षण गरेकी थिएँ,’ उनले भनिन्, ‘यो प्रयोगले पशुहरूसमेत स्वस्थ देखिएका छन् ।’ परीक्षण सफल भएको जानकारी उनले दिइन् । सुई लगाएपछि पोथी सुँगुर राम्ररी मोटाउने गरेको उनले बताइन् ।
गाउँघरमा कुकुर, बिरालोको संख्या नियन्त्रण गर्न यो विधि एकदमै सजिलो भएको स्थानीयवासीले बताए । पशुहरूको प्रजनन प्रक्रिया स्थायी रूपमा रोक्न शल्यक्रिया विधि अपनाइन्छ । अस्थायी रूपमा नियन्त्रण गर्न पशु चिकित्सकले समेत अस्थायी विधिका रूपमा यही सुई प्रयोग गर्ने गरेको जिल्ला पशु सेवा कार्यालयका प्राविधिकले बताए ।
EKANTIPUR