– शिव पुरी, ईकन्तिपुर
रौतहट – रौतहटकी आर्थिक अभावले एक दलित महिलाले सुत्केरी हुन झाँक्रीको भर परेपछि पेटको बच्चा गुमाएकी छन् । स्थानीय खेसरैया २ की बबितादेवी मल्लिक (डोम) लाई प्रसव व्यथा सुरु भएपछि परिवारले विभिन्न अस्पताल पुर्यायो । तर पैसा नभएकाले भर्ना गर्न सकेन । बाध्य भएर उनका श्रीमान् सञ्जयले सुत्केरी गराउन गाउँका झाँक्रीसमक्ष पुर्याए ।
छिमेकी हर्दिया पल्टुवा गाविसका झाक्री रामप्रवेश रायले झारफुकका नाममा २ दिन लगाएपछि उपचार गराउन ढिलाइ भएको थियो । समयमा अस्पताल नपुर्याउँदा बच्चाको मृत्यु भएको थियो । झारफुकका लागि २ दिन खर्च गरेपछि महिला सिकिस्त बनेकी थिइन् । पछि सरकारी अधिकारीको पहलमा अस्पताल पुर्याइएकी आमाको उपचारपछि स्वास्थ्य सामान्य छ । उनी आइतबार बिहान घर र्फकेकी छन् ।
सुत्केरी गराउन साताअघि सदरमुकामस्थित गौर अस्पतालमा भर्ना भएकी उनको उपचारमा बेवास्ता गरेको भन्दै बालकल्याण समितिका इन्द्रजीत सहनी र महिला विकास अधिकृत गीरा बस्नेतले नेसनल मेडिकल कलेज वीरगन्ज पठाएका थिए । ‘त्यहाँ पैसा अभावले भर्ना लिएन,’ सञ्जयले भने, ‘त्यसपछि नारायणी अस्पतालमा भर्ना गर्न खोज्दा पहिले २५ हजार धरौटी माग गरेकाले फर्काएर घर ल्याएको हँु ।’ केही सीप नलागेपछि सुत्केरी गराउन झाँक्रीसमक्ष लगेको उनले बताए ।
झाँक्रीसामु पुर्याएपछि समय बित्यो तर सुत्केरी भइनन् । त्यसपछि बिरामी बबिताको उपचारमा प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरे र एसपी गोबिन्दराम परियारले सक्रियता देखाएका थिए । घिमिरे र परियारको सहयोगमा गौर अस्पतालै भर्ना गरिएकी महिलाको चिकित्सक सुभाष चौधरीले शल्यक्रिया गरेर बच्चा निकालेका थिए । तर बच्चाको मृत्यु भइसकेको थियो । समयमा उपचार हुन नसकेपछि बच्चाको मृत्यु भएको चिकित्सकले बताए ।
अस्पतालका चिकित्सक कौशर आलमले बबिताको उपचारमा बेवास्ता नगरिएको दाबी गरे । ‘सुरुमा उच्च रक्तचाप बढेर नियन्त्रण नभएपछि वीरगन्ज रेफर गरेका हांै,’ चिकित्सक आलमले भने ।