छोराको हत्याबारे छानविनको माग राखेर वीर अस्पतालमा अनसनरत अधिकारीलाई अनसन तोड्न सरकारको आग्रह

काठमाडौं  । सरकारले आफ्ना छोराको हत्याबारे छानविनको माग राखेर वीर अस्पतालमा अनसनरत गोरखाका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई अनसन तोड्न आग्रह गरेको छ । अधिकारी दम्पत्तिका छोरा कृष्णप्रसाद अधिकारीको हत्याबारे छानविनको प्रक्रिया अघि बढिसेको भन्दै सरकारले अनसन तोड्न आग्रह गरेको हो । 
आज स्वास्थ्यमन्त्री विद्याधर मल्लिक, संस्कृति मन्त्री रामकुमार श्रेष्ठ र गृह सचिव नविन घिमिरेले अधिकारी दम्पत्तिलाई भेटेर अनसन तोड्न आग्रह गरेका हुन् ।
 
आजै, अधिकारी दम्पत्तिलाई भेटेर राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गौरी प्रधानले पनि सरकारले कृष्णप्रसादको हत्याबारे छानविन अघि वढाएको जानकारी गराएको भन्दै अनसन फिर्ता लिन आग्रह गरेका छन् । 
त्यसक्रममा प्रधानले सरकारी आश्वासन अनुसार हत्याबारे छानविन अघि नबढे आयोगले नै ठोस कदम चाल्ने बताए ।
 
सरकारका मन्त्री र मानवअधिकार आयोगका सदस्यको आग्रहपछि पनि अधिकारी दम्पत्तिले भने हत्यामा संलग्नलाई पक्राउ नगरिएसम्म अनसन नतोड्ने अडान लिएका छन् । 
छोरा कृष्णको हत्याबारे छानविनको माग राखेर लामो समयदेखि अनसनरत अधिकारी दम्पत्तिको स्वास्थ्य अवस्था पनि बिग्रदै गएको चिकित्सकहरुले बताएका छन् ।
 
चौतर्फि दबाबपछि गृहमन्त्रालयले नेपाल प्रहरीलाई पत्राचार गरी कृष्णको हत्याबारे छानविनका लागि डिएसपी सञ्जय रावतको संयोजकत्वमा सात सदस्यीय समिति बनाएको छ । 
२०६१ सालमा गोरखा फुजेलका १८ वर्षीय कृष्णप्रसाद अधिकारीलाई माओवादीले सुराकीको आरोप लगाउँदै चितवनमा हत्या गरेको थियो ।
RSS, IMAGECHANNEL