अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको भिडियोसहित अध्यागमन विभागका कर्मचारीलाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा जानेहरुको अन्तिम स्वीकृति दिंदा अनियमितता गरेको अभियोगमा वैदेशिक रोजगार विभागका निर्देशक रमेश मैनालीसहित विभागका ५ जनालाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
अख्तियारले नियन्त्रणमा लिएका वैदेशिक रोजगार विभागका अन्य कर्मचारीहरुमा शाखा अधिकृत दीपक खतिवडा, नायव सुब्बा चन्द्रहरि लुईंटेल, कम्प्युटर अपरेटर रामप्रसाद पोखरेल र पप्पुकुमार साह तथा अनुवादक वैदुल्ला महसुद रहेका छन् ।
वैदेशिक रोजगारीमा जाने ७७ जना कामदारको अन्तिम स्वीकृतमा अनियमितता गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।
त्यसैगरी अध्यागम विभागका शाखा अधिकृतद्वय देवर्सी सापकोटा र सूर्यप्रसाद दाहाल, नायब सुब्बाद्वय प्रदीप लामिछाने र विश्वराज खरेल तथा पिएन नारायण नापितलाई पनि अख्तियारले पक्राउ गरेको छ ।
अर्काको पासपोर्टमा वैदेशिक रोजगारीमा गई फिर्ता भएका उपेन्द्र सहनी र वीरेन्द्र मण्डलबाट जनही १५ हजार घुस लिएर छाडेको अभियोगमा अध्यागमका कर्मचारीहरु पक्राउ परेका हुन् ।