दमस्कस । सिरियाको राजधानी दमस्कस नजिकैको क्षेत्रमा सरकारी सेनाको रासायनिक हतियार आक्रमणबाट आफ्ना ६ सय ५० भन्दा बढी सेना मारिएको विपक्षीहरुले दाबी गरेका छन् । घातक रसायन मिसाइएको रकेटले घाउटा क्षेत्रमा आफ्ना सेनामाथि भीषण आक्रमण गरेको उनीहरुको जिकिर छ ।
विपक्षीले आक्रमणबाट घाईते भएकाहरुको अस्पतालमा उपचार गरिएको दृश्य यु-ट्युवमा अपलोड गरेको छ ।
संयुक्त राष्ट्र संघका पर्यवेक्षकको एक टोली रासायनिक हतियार प्रयोग गरिएको भन्ने विपक्षीको यस अघिको दाबीका सम्बन्धमा अनुसन्धान गर्न आइतवार दमस्कस पुगेको बेला नयाँ घटना सार्वजनिक भएको हो । सरकारी पक्षले भने विपक्षीको आरोप आधारहीन भनेको छ ।
यसैबीच बेलायती विदेशमन्त्री विलियम हेगले रासायनिक हतियार प्रयोगको घटनाप्रति गहिरो चासो देखाउदै अनुसन्धानका लागि उक्त क्षेत्रमा मार्ग प्रशस्त गर्न सिरियाली सरकारसँग आग्रह गरेका छन् ।