न्यूर्योक । सिरियाली सरकारले विपक्षी विरुद्ध रासायनिक हतियार प्रयोग गरेर नरसंहार मच्चाएकोबारे तत्काल निष्पक्ष छानविन गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघीय सुरक्षा परिषदको न्यूयोर्कमा हिजो बसेको आकस्मिक बैठकले सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेर सयौं नागरिकको हत्या गरेको भन्नेबारे के भएको हो यथार्थ पत्ता लगाएर कारवाही गर्न ढिलो गर्न नहुने प्रष्ट गरेको छ ।
राजधानी दमास्कसबाहिर राष्ट्रपति बशार अल असादको सरकारले एक हजार तीन सय निहत्था नागरिक मारेको आरोप विपक्षीले लगाएका छन् । सरकारले भने विपक्षीको आरोपलाई निराधार भन्दै आएको छ ।
तर, विपक्षीहरुले त्यसरी मारिएकाहरुको भिडियो नै बनाएर संसारभर फैलाएका छन् ।
यसैबीच अमेरिका, बेलायत, फ्रान्ससमेत ३५ देशका प्रतिनिधिले राष्ट्रसंघका निरीक्षकले नै यस घटनाको जाँच गर्नुपर्ने माग गरेका छन् ।
उता, आइतवार सिरिया पुगेका राष्ट्रसंघका निरीक्षकहरुले भने यसअघि नै रासायनिक हतियार प्रयोग गरिएको आरोपबारे छानविन गरिरहेका छन् । उनीहरुले ताजा घटनाको छानविन गर्न भनिए आफूहरुले जाँच सुरु गर्ने बताएका छन् ।
विपक्षीहरुको समूह नेशनल कोलिशनले बुधवारको घटनालाई नरसंहारको संज्ञा दिएका छन् । राष्ट्रपति असदको शासन विरुद्ध भइरहेको दुई वर्षयताको विद्रोहमा एक लाखभन्दा बढी नागरिक मारिइसकेका जनाइएको छ ।
Agencies