धुलिखेल – बर्डफ्लुका कारण मध्य जोखिम हुँदै उच्च जोखिममा परेको काभ्रे जिल्लामा फेरि बर्डफ्लु भेटिएको छ ।
भक्तपुरसँग सीमा जोडिएका गाविसमा देखिएको बर्र्डफ्लु साँगाबाट नौ किलोमिटर टाढा धुलिखेलमा समेत देखिएको हो । सरकारी तथा व्यवसायीले जैविक सुरक्षामा खासै ध्यान नदिँदा धुलिखेलमा सङ्क्रमण देखिएको हो ।
धुलिखेलमा ईश्वर शर्माको प्रभात पोल्ट्रीका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । तर जिल्ला पशुसेवा कार्यालय काभ्रेकी प्रमुख एवम् बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समूहकी सदस्यसचिव डा सम्झना काफ्लेले प्रभात ह्याचरीमा सङ्क्रमण देखिएको बताउनुभयो । विभागले सो ह्याचरीमा रहेका ३३ हजार कुखुरा नष्ट गर्ने तयारी गरिरहेको छ ।
शुक्रवार स्थलगत निरीक्षण गरी विभागको टोलीले शनिबार फार्मका ३३ हजार कुखुरा नष्ट गर्ने योजना बनाएको हो ।
त्यस्तै विभागले उच्च जोखिममा रहेको साँगा क्षेत्रका फार्मका ५०० मिटर वरिपरिका कुखुरासमेत नष्ट गरेको छ । केही दिनअघि भेटिएको आशापुरी ह्याचरी तथा लक्ष्मी ह्याचरीको ५०० मिटर वरिपरि रहेका कुखुरा नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।
RSS