कांग्रेसद्धारा एक निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा तीन र समानुपातिकमा पाँच जनाको नाम सिफारिस गर्न निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले एक निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा तीन र समानुपातिकमा पाँच जनाको नाम सिफारिस गर्न क्षेत्रीय समितिलाई निर्देशन दिने निर्णय गरेको छ । यसअघि पदाधिकारी बैठकले प्रत्यक्षमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन गरिसके पनि समानुपातिकबारे बोलेको थिएन ।


कांग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकमा समानुपातिकको लिष्ट पनि पठाउनुपर्नेमा बोल्ने सवै केन्द्रीय सदस्यले जोड गरेपछि यस्तो निर्णय लिइएको हो । कतिपय सदस्यले प्रत्यक्ष निर्वाचनका आकाक्षीको लिष्ट पठाउन खुला छाड्नुपर्ने बताएका थिए । आकाक्षीहरु धेरै हुने कारणले तीन जनाको मात्रै लिष्ट पठाउन निर्देश गर्दा समस्या आउने उनीहरुको तर्क थियो ।


सभापति सुशील कोइरालाले भने तीन जनाकै लिष्ट पठाउने तर सिफारिस भएर आउने व्यक्तिहरु प्रादेशिक सभा, जिल्ला या नगर कुनैपनि निकायमा उम्मेदवार बन्न नपाईने बताएका थिए । यस्तो सर्त राख्दा आूकक्षीको संख्या कम हुनसक्ने बुझाई उनको छ ।


बैठकमा उपसभापति रामचन्द्र पौडेलले परिमार्जन सहित प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पनि छलफल भएको थियो । बोल्ने अधिकांश केन्द्रीय सदस्यले परिमार्जित प्रस्ताव पनि अपुरो रहेको बताएका थिए । उनीहरुले संघियता, गणततन्त्र र समावेशीमा प्रष्ट व्याख्या हुन नसकेको भन्दै पुनः परिमार्जन गर्न आग्रह गरेका थिए । राजनीतिक प्रस्तावमा संघियताका ७ र १३ को दुई मोडल ल्याइएको छ । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङका अनुसार कांग्रेसले संविधानसभाभित्र पेश गरेको र राज्य पुर्नसंरचना आयोगले दिएको ६ प्रदेश र सहमतीका लागि  कांग्रेसले मंजुर जनाएको एघार प्रदेशको मापदण्ड बाहिर गएर  संघियताको मोडल आएको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने धारणा उठेको बताएका थिए ।


कोइरालाले नेकपा-माओवादीलाई संविधानसभाको निर्वाचन प्रकृयामा समावेश गर्नका लागि गोलमेच सम्मेलनका बिषयमा कांग्रेस लचक भएको बताएका थिए । गोलमेच सम्मेलनमा गए पनि बैद्य समूह निर्वाचनमा आउने अझै ग्यारेन्टी नभईसकेको उनको भनाई थियो । ‘संविधानसभा निर्वाचनमा कोही पनि बाहिर नपरुन भनेर कांग्रेस बैद्य समूहसंगको बार्तामा लचक भई यहाँसम्म आईपुगेको हो’ उनको भनाई थियो । – कान्तिपुर