मुम्बईमा भएको सामूहिक बलात्कारका आरोपी मध्ये अर्का एक जना पक्राउ

मुम्बई । भारतको मुम्बईमा गत बिहीबार साँझ एक अंग्रेजी पत्रिकामा कार्यरत २३ वर्षीया प्रशिक्षार्थी फोटो पत्रकारमाथि भएको सामूहिक बलात्कारका आरोपी मध्ये अर्का एक जना पनि पक्राउ परेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
घटनामा संलग्न तीन जना संदिग्ध अझै फरार छन् । एक जनालाई भने हिजो पक्राउ गरिएको थियो । २० जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाइएको छ । 
मुम्बईको जसलोक अस्पतालमा उपचाररत पीडितसँगको बयानका आधारमा प्रहरीले आरोपीहरुको स्केच सार्वजनिक गरेको थियो । सामाजिक बेइज्जती हुने त्रासमा पीडित पक्षले सुरुमा घटना लुकाउन खोजेका थिए । 
तर, उनको स्वास्थ्य अवस्था गम्भीर देखेर चिकित्सकले प्रहरीलाई खबर गरेपछि घटना सर्वाजनिक भएको थियो । फोटो खिच्न पीडितसँगै हिंडेका युवकको पनि प्रहरीले बयान लिएको छ । 
समाचारका लागि तस्वीर खिच्न पुगेकी उनलाई सँगै रहेका पुरुष साथीलाई बाँधेर सामूहिक बलात्कार गरिएको थियो । पीडित युवतीको स्वास्थ्य स्थिर छ । 
घटनाको विरोधमा मुम्बईमा पत्रकारहरुले व्यापक प्रदर्शन गरेका जनाइएको छ ।
Agencies